काठमाडौँ- पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिप–२०२६ मा नेपाली टोलीले लगातार दोस्रो हार बेहोरेको छ। नेपाली टोली बिहीबार सम्पन्न आफ्नो दोस्रो खेलमा श्रीलंकासँग २–३ को सेटमा पराजित भएको हो । यो खेल निकै प्रतिस्पर्धात्मक थियो।
पहिलो सेटको नतिजालाई श्रीलंकाली टोलीले २५–१८ अंकले आफ्नो पक्षमा पार्यो । त्यसपछि नेपालले खेलमा उत्कृष्ट पुनरागमन गर्यो। नेपालले दोस्रो सेटको नतिजालाई २५–२१ अंकले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा पनि नेपाली टोली २५–१९ अंकले अगाडि रह्यो। चौथो सेटमा अर्को उलटफेर भयो । निकै प्रतिस्पर्धात्मक यो सेटको नतिजालाई श्रीलंकाली टोलीले २५–२१ अंकले आफ्नो पक्षमा पार्यो ।
त्यसपछि थप रोमाञ्चक बनेको खेल पाँचौं तथा निर्णायक सेटमा गयो । अन्तत: अन्तिम सेटको नतिजालाई १५–१० अंकले आफ्नो पक्षमा पार्दै श्रीलंकाले खेल जित्यो। यसअघि, बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली कजाकस्तानसँग २–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो।
जारी प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ। त्यसपछि, आइतबार नेपाल र बंगलादेशबीच भिडन्त हुनेछ। नेपाली टोलीले आफ्नो अन्तिम खेल आगामी सोमबार उज्बेकिस्तानसँग खेल्नेछ । श्रीलंकाले भने जारी प्रतियोगितामा पहिलो जित हात पारेको हो।
यसअघि, आफ्नो पहिलो खेलमा श्रीलंकाली टोली आयोजक पाकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । उक्त खेलमा पाकिस्तान २५–१६, २५–१५ र २५–१८ ले विजयी भएको थियो ।

