काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न अनावश्यक स्वास्थ्य सेवा तथा परीक्षणको माग नगर्न बीमित सेवाग्राहीलाई आग्रह गरेको छ।
शुक्रबार जारी विज्ञप्तिमा बोर्डले बीमित नागरिकलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न अनुरोध गर्दै आवश्यकता नभएको स्वास्थ्य परीक्षण वा उपचारका लागि दबाब नदिन पनि अपिल गरेको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि आवश्यकता भन्दा बढी परीक्षण वा उपचार नगर्न बोर्डले आग्रह गरेको छ।
बोर्डका अनुसार सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक हजारौँ नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन्।
यस कार्यक्रमले उपचारका क्रममा नागरिकले आफ्नै खल्तीबाट गर्नुपर्ने खर्च घटाउँदै वित्तीय जोखिमबाट संरक्षण प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।
यद्यपि स्वास्थ्य बीमा कार्यक्रमको दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी भुक्तानी समयमै गर्न कठिनाइ भइरहेको बोर्डले स्वीकार गरेको छ। यसबाट सेवा प्रदायक संस्था र बीमित सेवाग्राही दुवै प्रभावित भएको पनि बोर्डले जनाएको छ।
बोर्डका अनुसार चालु आर्थिक वर्षमा विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई रु. २३ अर्ब ४४ करोड २ लाख १८ हजार १६ रुपैयाँ भुक्तानी गरिएको छ। २०८२ साल मसान्तसम्मको दाबी भुक्तानी भने फर्छ्योट भइसकेको बोर्डले जनाएको छ।
२०८२ मंसिरपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल निरन्तर भइरहेको बोर्डले जनाएको छ।
बीमित नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने गरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसार गुणस्तरीय सेवा उपलब्ध गराइरहन सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डले अनुरोध गरेको छ।





