इटहरी– उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको अध्यक्षमा गायत्री कटवाल भण्डारी निर्वाचित भएकी छन्। शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति आएको हो।
अन्तिम मतपरिणामअनुसार भण्डारीले ७५८ मत प्राप्त गर्दा प्रतिस्पर्धी नवराज काफ्लेले ७४३ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर १५ रहेको छ। यससँगै उवासंघ इटहरीले पहिलो महिला नेतृत्व पाएको छ।
वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपानेले सर्वाधिक ९८९ मत प्राप्त गरेका छन्। यसैगरी सञ्जीव खड्काले ९८४, बलराम बस्नेतले ९६०, सिनेट रिजालले ९५९, सञ्जय शाहले ९५७, बलबहादुर न्यौपानेले ९४३, सन्नी चौधरीले ९१५, दिनेशप्रसाद धमलाले ९०८ र महेश थापाले ८८३ मत प्राप्त गर्दै निर्वाचित भए। वाणिज्य सदस्यतर्फ नौ जना निर्वाचित हुने व्यवस्था छ।
यस्तै, वाणिज्य सदस्यतर्फ दुर्गाप्रसाद थापाले ५५८, निर्मला श्रेष्ठले ५१३, उषा सेढाई (सत्याल)ले ४८४ र हर्कबहादुर विकले ४२३ मत प्राप्त गरे। महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भएका छन्। यसैगरी पुनम थापा मगरले मत प्राप्त गर्दा लीलाकुमारी राईले मत प्राप्त गरिन्। उद्योग सदस्यतर्फ अभिषेक बस्नेतले १४४, शिवप्रसाद भट्टराई (भूपाल)ले १३४, हरिप्रसाद तिम्सिनाले १२१ र किसन कुमार खेडियाले १०१ मत प्राप्त गर्दै विजयी भए। अर्का उम्मेदवार सुरज आङ्देम्बेले ८० मत प्राप्त गरे। कुल दुई हजार ३६९ मतदाता रहेको उवासंघको निर्वाचनमा कुल एक हजार ५४३ मत खसेको थियो।



