खोटाङ– निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको कालोपत्र योजना अधुरै रहने भएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसँेलुखर्कबजार जोड्ने सडक र सोही खण्डको हुर्लुङबाट जालपा–सप्तेश्वर–बाक्सिलाबजार जोड्ने ग्रामीण सडक कालोपत्र योजना अपुरो हुने भएको हो।
कोशी प्रदेश सरकारबाट विनियोजित बजेमार्फत अस्फाल्ट कालोपत्र गर्ने भनिएको यी दुई सडकको काम कालोपत्र गर्ने चरणमा पुगेपछि अलपत्र परेको छ। दुवै सडकको कालोपत्रको काम यही असार १५ गतेभित्र सक्नेगरी निर्माण कम्पनी बिसी–पिसी–पीकेबी जेभीले भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमा ठेक्का सम्झौता गरेको थियो।
निर्माण व्यवसायीले सडक कालोपत्र गर्न आवश्यक सामग्री तयार पारे पनि म्याद र मौसमका कारण काम अघि बढ्न नसकेको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिए। नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडक रु दुई करोड ३८ लाख ३८ हजारमा दुई हजार २०० मिटर खण्डमा कालोपत्र गर्नेगरी निर्माण व्यवसायीले काम सुरु गरेको थियो।
सोही ठेकेदार कम्पनीले हुर्लुङबाट जालपातर्फ दुई हजार ५०० मिटरमा अस्फाल्ट कालोपत्र गर्नेगरी रु दुई करोड ५३ लाख ५४ हजारमा सम्झौता गरेको थियो। हालसम्म नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडकको प्रगति १८ प्रतिशत र जालपा–हुर्लुङ–सप्तेश्वर–बाक्सिला सडकको भौतिक प्रगति १३ प्रतिशतमात्रै भएको कार्यालयले जनाएको छ।



