मुख्यमन्त्री हिक्मतकुमार कार्की
इटहरी- कोशी प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिए पनि सरकार परिवर्तन तत्काल हुने सम्भावना टरेको छ।एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुगेको नेपाली कांग्रेसले मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाई ‘पर्ख र हेर’ को रणनीति अपनाएपछि प्रदेशको राजनीति फेरि अंकगणितमै अड्किएको हो।
कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बिहीबार बसेको बैठकले सरकारबाट बाहिरिने विषयमा अन्तिम निर्णय नगरी संसदीय दलका नेता उद्धव थापा र केन्द्रीय सदस्य अमृत अर्याललाई केन्द्रीय नेतृत्वसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ। केन्द्रको औपचारिक निर्णय नआएसम्म कुनै कदम नचाल्ने निष्कर्ष बैठकले निकालेको हो।
राजनीतिक रूपमा कांग्रेसले एमालेसँगको सहकार्य समाप्त भएको घोषणा गरिसकेको छ। तर कोशीमा संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकार र प्रदेशसभाको जटिल अंकगणितका कारण तत्काल सरकार परिवर्तन सहज छैन। त्यसैले कांग्रेसले सत्ता छाड्नेभन्दा पहिले नयाँ समीकरणको सुनिश्चितता खोजिरहेको हो।
९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ। एमालेसँग ४०, कांग्रेससँग २९, माओवादीसँग १३, राप्रपासँग ६, नेकपा (एकीकृत समाजवादी) सँग चार र जसपासँग एक सांसद छन्। यही अंकगणितका कारण अहिले कुनै पनि दल एक्लैले सरकार बनाउन सक्ने अवस्थामा छैन।
यसले गर्दा कोशी प्रदेशको राजनीति नेकपाको निर्णयमा केन्द्रित भएको छ। कांग्रेस र एमाले दुवैले नेकपालाई आफ्नो पक्षमा ल्याउने प्रयास तीव्र बनाएका छन्। सत्ता कसको नेतृत्वमा जाने भन्नेभन्दा पनि नेकपाले कसलाई साथ दिन्छ भन्ने प्रश्न निर्णायक बनेको छ। राजनीतिक वृत्तमा सबैभन्दा बढी चासो नेकपाको आगामी कदमतर्फ केन्द्रित छ। यता कांग्रेसभित्र पनि सत्ता नेतृत्वबारे छलफल सुरु भएको छ।
नयाँ गठबन्धन बनेमा संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने विषयमा गृहकार्य भइरहेको स्रोत बताउँछ। यद्यपि यसबारे पार्टीभित्र पूर्ण सहमति बनिसकेको छैन। नेता थापाले एमालेसँगको सत्ता सहकार्य राजनीतिक रूपमा समाप्त भइसकेको बताए। उनले अब कांग्रेस तीन सम्भावित राजनीतिक विकल्पमा छलफल गरिरहेको प्रतिक्रिया दिए।
‘एमालेसँग पुनः सहकार्यको सम्भावना, नेकपासँग नयाँ समीकरण वा प्रतिपक्षमा बस्ने यी तीनवटै विकल्प खुला छन्,’ थापाले भने, ‘यसबारे शुक्रबार निर्णय हुन्छ। कोशीको सत्ता समीकरणको अवस्था जटिल भएका कारण बिहीबार निर्णय गर्न सकिएन।’
मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा कांग्रेसका पाँच मन्त्री सहभागी छन्। उनीहरूलाई फिर्ता बोलाउने तयारी रहे पनि केन्द्रको संकेत नआएकाले निर्णय स्थगित गरिएको कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले बताए। कांग्रेसका तर्फबाट प्रदीपकुमार सुनुवार, मानबहादुर लिम्बू, भीम पराजुली, इस्राइल मन्सुरी र शोभा चेम्जोङ मन्त्री छन्।
उनीहरूलाई बिहीबार राजीनामा गराउने तयारी गरिएको भए पनि निर्णय नहुँदा शुक्रबार टुंगिन सक्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक तामाङले बताए। कोशीको सत्ता निरन्तरताबारे अब केन्द्रबाट आउने राजनीतिक निर्णय नै निर्णायक हुने देखिएको उनी बताउँछन्। उनका अनुसार केन्द्रबाट औपचारिक निर्णय आएपछि प्रदेशमा पुनः बैठक बसेर सरकारमा रहने वा बाहिरिने विषयमा अन्तिम निर्णय गर्नका लागि थापालाई जिम्मेवारी दिइएको छ।
‘बिहीबारको बैठकबाट ठ्याक्कै यसै गर्ने भन्ने निर्णय नहुँदा मन्त्रीलाई पनि फिर्ता नबोलाइएको हो,’ तामाङले फोन सम्पर्कमा भने, ‘अब राजनीतिक अवस्था हेरेर केन्द्रको निर्णयबाट समीकरण टुंगिन्छ।’
सुदूरपश्चिमदेखि देखिएको प्रदेशहरूको सत्ता समीकरणमा कोशीको समस्या भने फरक रहेको उनको तर्क छ। ‘कोशीको सत्ता समीकरण अन्य प्रदेशभन्दा फरक छ, यसबारे दलको नेताले केन्द्रसँग छलफल गरी टुंगो लगाउनुहुन्छ,’ उनले थपे।
कोशीमा चार वर्षयता पटकपटक सरकार परिवर्तन हुँदै आएको छ। अहिले पनि सत्ता परिवर्तनको चर्चा चुलिए पनि अन्तिम निर्णय भने केन्द्रले नै तय गर्ने देखिएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले एमाले नेतृत्वका प्रदेश सरकारबाट बाहिरिने नीति लिएको थियो। सुदूरपश्चिम र कर्णालीमा त्यसको कार्यान्वयन सुरु भइसकेको छ। तर कोशीमा भने केन्द्रको औपचारिक निर्देशन नआएसम्म थप निर्णय नहुने जनाइएको छ।
कांग्रेसले गठबन्धनसँगको दूरी बढाइसकेको भए पनि सरकार छाड्ने ‘टाइमिङ’ भने केन्द्रको राजनीतिक निर्णयसँगै तय हुने संकेत देखिएको हो।


