काठमाडौं– नेपाली फिल्मको प्रवर्द्धन, संरक्षण तथा नयाँ पुस्तामाझ नेपाली फिल्मप्रति आकर्षण बढाउने उद्देश्यका साथ नेपाल फिल्म सोसाइटीले ‘बाह्रै महिना, बाह्रै नेपाली चलचित्र’ अभियानको शुभारम्भ गर्ने भएको छ ।
भोलि साउन १० गतेदेखि प्रारम्भ हुने यस अभियानअन्तर्गत वर्षभर प्रत्येक महिनामा एक उत्कृष्ट नेपाली चलचित्रको विशेष पुनःप्रदर्शन गरिने छ।
नेपाल फिल्म सोसाइटीका अनुसार यो अभियान विशेषगरी त्यस्ता दर्शकलाई लक्षित गरिएको हो, जसले नेपाली फिल्म हेर्ने अवसर पाएका छैनन् वा प्रदर्शनको समयमा चर्चित तथा उत्कृष्ट फाइलहरू विभिन्न कारणले हेर्न छुटाएका थिए ।
पुनःप्रदर्शनमार्फत यस्ता फिल्महरू पुनः दर्शकमाझ ल्याई नेपाली फिल्मप्रतिको विश्वास, रुचि र अपनत्व अझ सुदृढ बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रमले नेपाली फिल्मको कलात्मक, सांस्कृतिक तथा सामाजिक महत्वलाई नयाँ पुस्तासम्म पुर्याउने विश्वास आयोजकको छ। पछिल्लो समय विदेशी सामग्रीतर्फ बढ्दो आकर्षणका बीच स्वदेशी फिल्मको मौलिकता, सिर्जनशीलता र इतिहासलाई दर्शकमाझ पुनःस्थापित गर्ने अभियानका रूपमा यसलाई हेरिएको छ।
नेपाल फिल्म सोसाइटीले यो अभियान केवल पुनःप्रदर्शनमा सीमित नरहने जनाएको छ । कार्यक्रममा प्रदर्शन गरिएका उत्कृष्ट फिल्महरूमध्येबाट ग्लोबल नेपाली फिल्म अवार्डका लागि उपयुक्त फिल्म छनोट गर्ने प्रक्रिया पनि अघि बढाइने छ । यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र विश्वभर रहेका नेपाली समुदायसँग जोड्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार प्रत्येक महिनाको प्रदर्शनसँगै फिल्मकर्मी, निर्देशक, कलाकार, समीक्षक तथा दर्शकबीच अन्तरक्रिया, छलफल र अनुभव आदानप्रदानका कार्यक्रमसमेत सञ्चालन गरिने योजना रहेको छ । यसले नेपाली फिल्मको गुणस्तर, इतिहास र भविष्यबारे सार्थक बहसलाई समेत प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
नेपाल फिल्म सोसाइटीले सम्पूर्ण फिल्मप्रेमी, कलाकार, निर्माता, निर्देशक, पत्रकार तथा सरोकारवालालाई अभियानमा सहभागी भई नेपाली फिल्मलाई थप उचाइमा पुर्याउन आग्रह गरेको छ।
‘आउनुहोस्, नेपाली चलचित्रलाई माया गरौं, हेरौं र विश्वसामु यसको गौरव बढाऔं’ भन्ने मूल नारासहित प्रारम्भ हुन लागेको यो अभियान नेपाली फिल्म उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।



