अभियन्ता माजिद अन्सारीलाई तत्काल रिहा गर्न एमनेस्टीको माग

हिमाल प्रेस २९ असार २०८३ १६:३६ | Monday, July 13, 2026
2
SHARE
अभियन्ता माजिद अन्सारीलाई तत्काल रिहा गर्न एमनेस्टीको माग

काठमाडौँ- एमनेस्टी इन्टरनेसनल नेपालले जेनजेड अभियन्ता माजिद अन्सारीको गिरफ्तारीप्रति चिन्ता व्यक्त गर्दै उनको तत्काल र बिनासर्त रिहाइको माग गरेको छ। संस्थाले अन्सारीलाई पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार तथा व्यक्तिगत स्वतन्त्रतामाथिको गम्भीर उल्लंघन भएको ठहर गरेको छ।

कीर्तिपुरस्थित सरकारी होल्डिङ सेन्टरमा रहेका जबरजस्ती निष्कासनका पीडितहरूप्रति ऐक्यबद्धता जनाउन पुगेका माजिद अन्सारी, सरिष्मा थापा र नेल्सन घतानीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो। ती पीडितहरू शुक्रबार रातिको भीषण वर्षापछि आएको बाढीबाट प्रभावित भएका थिए।

संस्थाले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा प्रहरीले तीनै जना अभियन्तामाथि गालीगलौज र कुटपिट गर्दै प्रहरीको गाडीमा राखेको देखिएको दाबी गरेको छ। अन्सारीको अनुहारमा रगत लागेको र चोटपटक देखिएको भन्दै उनीमाथि गैरकानुनी बल प्रयोग गरिएको आरोप पनि लगाएको छ।

पक्राउ परेकामध्ये सरिष्मा थापा र नेल्सन घतानी शनिबार राति नै रिहा भएका थिए।

एमनेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले जबरजस्ती निष्कासनका पीडितहरूप्रति ऐक्यबद्धता व्यक्त गरेकै कारण अभियन्ताहरूलाई स्वेच्छाचारी रूपमा पक्राउ गरिएको भन्दै यसले नेपालमा नागरिक स्वतन्त्रतामाथि गम्भीर खतरा देखाएको उल्लेख गरेका छन्।

उनले वर्तमान सरकारका अधिकांश मन्त्रीहरू गत भदौ २३ र २४ मा भएको जेनजेड आन्दोलनपछि सत्तामा आएको स्मरण गराउँदै त्यसबेला अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण विरोधको पक्षमा उभिएका नेताहरू अहिले शान्तिपूर्ण असहमति व्यक्त गर्ने युवालाई लक्षित गर्दै अघिल्लो सरकारकै दमनकारी शैली अपनाइरहेको आरोप लगाए।

एमनेस्टीले राज्यले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने संवैधानिक अधिकारको पूर्ण संरक्षण गर्नुपर्ने, कानुन कार्यान्वयन संयन्त्रलाई विरोध दबाउने माध्यमका रूपमा प्रयोग गर्न नहुने र अन्सारीको सुरक्षा, उपचार तथा थप दुर्व्यवहारबाट संरक्षण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।

विज्ञप्तिमा हालै सरकारले जबरजस्ती निष्कासन गरेका परिवारलाई राखिएको कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँको असुरक्षित अवस्थासमेत उजागर भएको उल्लेख गरिएको छ। एम्नेस्टीले यस घटनाले निष्कासित परिवारहरूको मानवअधिकार संरक्षणप्रति पनि गम्भीर प्रश्न उठाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast