काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले महँगी, कालाबजारी, विपद् व्यवस्थापन, सुकुम्बासीको समस्या, प्रेस स्वतन्त्रता, विद्युत् आपूर्ति, पूर्वाधार, मानवअधिकारलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
विशेष समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले महँगी, कालाबजारी र विचौलियातन्त्र नियन्त्रण गरी जनतालाई राहत दिन सरकारसँग माग गरे।
उनले सरकारका गतिविधि जनमुखी हुनुपर्ने र सुशासनका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरको समस्या शीघ्र समाधान गर्न आग्रह गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएकाले पत्रकार र सञ्चारगृहले त्रासरहित वातावरणमा काम गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग माग गरे।
उनले आफ्नो दल प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको उल्लेख गर्दै पत्रकारिताले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
आकस्मिक समयमा सांसदहरूले अविरल वर्षाका कारण उत्पन्न विपद् जोखिम न्यूनीकरण र प्रभावित नागरिकको उद्धार तथा राहतमा सरकारलाई प्रभावकारी रूपमा जुट्न आग्रह गरे।
सांसद करिश्मा कठरियाले डोटीको सायल गाउँपालिकामा पहिरोबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न माग गरिन् भने सांसद प्रेमबहादुर बयकले कालीकोट, जाजरकोट, कैलालीलगायत जिल्लाका पीडितलाई तत्काल राहत उपलब्ध गराउन आग्रह गरे।
सांसद ऐनबहादुर महरले सरकारले विपद् व्यवस्थापनसम्बन्धी कार्ययोजना सार्वजनिक गर्नुपर्ने धारणा राखे। सांसद प्रमिलाकुमारी गच्छदारले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको व्यवस्थापन गर्न र प्रहरी कुटपिटबाट पीडित माजिद अन्सारीलाई न्याय दिलाउन माग गरिन्।
त्यसैगरी सांसद गंगादेवी श्रेष्ठले विद्युत् अवरोधबाट सर्वसाधारणले भोगेका समस्या समाधान गर्न सरकारसँग आग्रह गरिन्।
सांसद शम्भुप्रसाद यादवले मापदण्डविपरीत खनिएका सडकका खाल्डाखुल्डीले दुर्घटना निम्त्याएको उल्लेख गर्दै सिराहामा तीन बालबालिकाको डुबेर मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए।
सांसद श्रीराम न्यौपानेले आगामी आर्थिक वर्षदेखि ३२० कार्यदिन र चौबिसै घण्टा बहुसिफ्ट प्रणाली लागू गर्न प्रस्ताव गरे भने सांसद निनुकुमारी कर्णले अभिनेत्री काजल कर्णमाथि भएको भनिएको विभेदको घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरिन्।
सांसद रमेशकुमार मल्लले आत्मदाह गरेका गणेश नेपालीप्रति सुरक्षाकर्मीको व्यवहार दुःखद रहेको टिप्पणी गर्दै यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने बताए।
सांसद आरेन राईले श्रमिक, गरिब र सुकुम्बासीका पक्षमा प्रभावकारी कार्यक्रम ल्याउन आग्रह गरे भने सांसद ज्ञानबहादुर शाहीले आत्मदाहको घटनामा जिम्मेवारमाथि कारबाहीको माग गरे। सांसद निष्कल राईले अभिव्यक्ति स्वतन्त्रता र सरकारको जवाफदेहितालाई लोकतन्त्रको आधार भएको उल्लेख गरे।
आकस्मिक समयमै सांसद डा.अमरेशकुमार सिंहले मुलुकमा बढ्दो निराशा अन्त्य गर्न सत्तापक्ष र प्रतिपक्ष दुवैले राष्ट्रिय हितमा सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरे। उनले पछिल्लो समय आत्मदाहको प्रयासपछि ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे।
सांसद खडकबहादुर बुढाले जाजरकोटको भेरी नगरपालिकामा पहिरोबाट भएको मानवीय क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै भूकम्प प्रभावित नागरिकको सुरक्षित पुनर्स्थापनामा जोड दिए।
सांसद नरेन्द्रकुमार केरुङले इलाम, पाँचथर र ताप्लेजुङमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको अभाव हटाउन र मेची राजमार्गअन्तर्गत राजदुवाली सडकखण्डको मर्मत गर्न माग गरे।
त्यस्तै सांसद दीपककुमार साहले सुनसरीमा दैनिक १२ देखि १८ घण्टासम्म हुने विद्युत् अवरोध अन्त्य गरी नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।



