भाडाका सवारीमा अत्याधुनिक सुरक्षा प्रणाली, नियम नमान्नेलाई सञ्चालनमा रोक

क्याबिन क्यामेरा, एसओएस बटन र जीपीएस अनिवार्य

हिमाल प्रेस १९ असार २०८३ १८:१६ | Friday, July 3, 2026
8
SHARES
भाडाका सवारीमा अत्याधुनिक सुरक्षा प्रणाली, नियम नमान्नेलाई सञ्चालनमा रोक

काठमाडौँ- सरकारले सार्वजनिक यातायातलाई सुरक्षित, प्रविधिमैत्री र व्यवस्थित बनाउन ‘सुरक्षित तथा प्रविधिमैत्री यातायात सञ्चालन मापदण्ड–२०८३ (२०२६)’ लागू गरेको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले जारी गरेको नयाँ मापदण्डले सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउनुका साथै वास्तविक समय (रियल–टाइम) मा निगरानी र जवाफदेहिता बढाएर सडक दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य राखेको छ।

नयाँ व्यवस्थाअनुसार सबै सार्वजनिक सवारीसाधनमा क्याबिन क्यामेरा र एसओएस (एसओएस) बटन अनिवार्य रूपमा जडान गर्नुपर्नेछ। यी प्रणालीबारे नेपाली र अंग्रेजी भाषामा स्पष्ट जानकारी सवारीभित्र सबैले देख्ने स्थानमा राख्नुपर्ने व्यवस्था गरिएको छ। सूचनामा एसओएस बटन थिच्दा सवारीसाधनको अवस्थिति (लोकेसन) र आपत्कालीन विवरण सम्बन्धित निकायमा स्वतः पुग्ने उल्लेख हुनुपर्नेछ।

त्यस्तै सबै यात्रुवाहक, मालवाहक र पर्यटक सवारीमा भेहिकल लोकेसन ट्र्याकिङ डिभाइस जडान गर्नुपर्नेछ। जीपीएसमा आधारित यो प्रणालीमार्फत सवारीको अवस्थिति, गति तथा आपत्कालीन अवस्थाबारे रियल–टाइम निगरानी गर्न सकिनेछ।

यी उपकरणमा ब्याट्री ब्याकअप, छेडछाड भएको अभिलेख (ट्याम्पर डिटेक्सन लग) र इन्टरनेट अवरुद्ध हुँदा पनि तथ्यांक सुरक्षित राख्ने तथा नेटवर्क पुनः सञ्चालन भएपछि स्वतः पठाउने (स्टोर एन्ड फरवार्ड) सुविधा अनिवार्य गरिएको छ।

मापदण्डअनुसार सवारीको विवरण, रुट नम्बर, अवस्थिति (को–अर्डिनेट), गति, यात्रा दिशा, सवारी सञ्चालनको अवस्था, उपकरणको स्वास्थ्य तथा छेडछाड वा एसओएस सक्रिय भएको सूचनालगायतका विवरण निरन्तर केन्द्रीय डिजिटल प्रणालीमा पठाउनुपर्नेछ।

यी उपकरण जडान गरेपछि सवारीधनी वा सञ्चालकले यातायात व्यवस्था विभागबाट प्रमाणीकरण गराउनुपर्नेछ। उक्त प्रमाणीकरण विद्यमान सवारी अभिलेखसँग एकीकृत गरिनेछ।

सवारीअनुसार भिन्नभिन्न व्यवस्था

सरकारले सवारीको प्रकृतिअनुसार आवश्यक उपकरणसमेत तोकेको छ।

ट्याक्सीमा अगाडि र पछाडि ड्यासक्याम तथा चालक र यात्रु दुवैले प्रयोग गर्न सक्ने एसओएस बटन अनिवार्य हुनेछ।

जिप, भ्यान, माइक्रोबस र पिकअप जस्ता साना यात्रुवाहक सवारीमा अगाडिपछाडि ड्यासक्याम, चालकको थकान वा निद्रा लागेको पत्ता लगाउने ड्राइभर मनिटरिङ सिस्टम र एसओएस बटन राख्नुपर्नेछ।

बसमा अगाडि–पछाडि ड्यासक्याम, क्याबिन क्यामेरा, ड्राइभर मनिटरिङ सिस्टम तथा यात्रु क्षमताअनुसार प्रवेशद्वार र क्याबिनका विभिन्न स्थानमा धेरैवटा एसओएस बटन जडान गर्नुपर्नेछ।

मालवाहक सवारीमा केन्द्रीय डेटा प्रणाली (हेड युनिट), अगाडिको ड्यासक्याम, चालक सहयोगी क्यामेरा, ड्राइभर मनिटरिङ सिस्टम, एक्सल लोड सेन्सर र एसओएस बटन अनिवार्य गरिएको छ।

त्यसैगरी ट्याक्सी र विद्युतीय तीनपाङ्ग्रे (सफा टेम्पो) बाहेक सबै सार्वजनिक सवारीमा अग्निनियन्त्रक (फायर एक्स्टिङ्गुइसर) र प्राथमिक उपचार (फर्स्ट एड) सामग्री राख्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले तोकिएको समयभित्र मापदण्ड कार्यान्वयन नगर्ने सवारीसाधनलाई सञ्चालन गर्न नदिने चेतावनी दिएको छ। मापदण्ड पालना नगर्ने सवारीमाथि ट्राफिक प्रहरीले कारबाही गर्न सक्ने अधिकार पनि प्रदान गरिएको छ।

प्रकाशित: १९ असार २०८३ १८:१६ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast