फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको सय दिन सुशासनको थालनी गर्ने ष्विायमा सफल भएको दाबी गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार सांसदहरूलाई डिजिटल अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले सरकारले सुरुदेखि नै सुशासनलाई प्राथमिकतामा राखेको र सय दिन सुशासन थालनीका विषयमा सफल भएको बताएका हुन्।
सरकारले यस अवधिमा नागरिकका सवाल र सुशासनमा बढी जोड दिएको उनको दाबी छ। उनले भौतिक पूर्वाधारको क्षेत्रमा तीन वर्षको प्याकेज बनाएर काम थालिएको र सेवा प्रवाहलाई डिजिटल तथा सहज बनाउने क्रम थालनी भएको बताए। सभापति लामिछानेले असल नियतले काम गर्दागर्दै पनि कहिलेकाहीँ प्रक्रियागत कमजोरी हुन सक्ने भन्दै आगामी दिनमा प्राप्त सुझावका आधारमा कमीकमजोरी सुधार्दै अघि बढ्ने धारणा राखे।
उनले संविधानका धेरै विषयमा बहस आवश्यक रहेको उल्लेख गर्दै रास्वपाले प्रदेश खारेजीको माग नगरेको स्पष्ट पारे। प्रदेश संरचनालाई अझ प्रभावकारी र कम बोझिलो बनाउनका लागि रास्वपाले बहसको विषयका रूपमा मात्र अगाडि सारिएको र यसमा सर्वदलीय सहमति आवश्यक पर्ने उनको भनाय छ।
सभापति लामिछानेले काठमाडौँको खोला किनारका नागरिकलाई व्यवस्थित गर्न खोजिएको बताउँदै वास्तविक सुकुम्बासीहरूले जग्गा वा आवास प्राप्त गरेपछि अहिलेको पीडा बिर्सने दाबी गरे।
साथै उनले रास्वपा सांसदहरुलाई प्रविधिसँग नजिक राख्न आगामी दिनमा साइबर सुरक्षा, डिजिटल सेक्युरिटी जस्ता विषयमा थप कार्यक्रम ल्याउन लागिएको जानकारी दिए। बैठकमा सांसदहरुलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म प्रणालीबारे जानकारी गराइएको थियो।




