काठमाडौँ- देशका अधिकांश प्रमुख नदीको जलसतह हाल सतर्कता तहभन्दा तल रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान सार्वजनिक गरेको तीनदिने बाढी पूर्वानुमान बुलेटिनअनुसार आगामी तीन दिन अधिकांश नदीमा सामान्य घटबढ रहने भए पनि नारायणी र कर्णाली नदी प्रणालीका केही नदीमा बहाब उल्लेख्य बढ्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, महाकाली, कन्काई, कमला, बागमती, पूर्व राप्ती, पश्चिम राप्ती तथा बबई नदीमा आगामी तीन दिनसम्म सामान्य घटबढ हुने सम्भावना छ। यद्यपि नारायणी जलाधारअन्तर्गत नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदी तथा कर्णाली जलाधारअन्तर्गत कर्णाली, भेरी र पश्चिम सेती नदीमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। ती नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने जनाइएको छ।
महाशाखाले शुक्रबार कास्की, पर्वत, स्याङ्जा, बागलुङ, कैलाली तथा आसपासका जिल्लाबाट बग्ने साना नदीमा बहाब उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढीको न्यून जोखिम रहने जनाएको छ।
यस्तै शनिबार र आइतबार कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका केही साना नदीमा वर्षाका कारण बहाब आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना औँल्याइएको छ।
महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी आसपास आवतजावत गर्ने सर्वसाधारणलाई मौसम र नदीको अवस्थाबारे नियमित जानकारी लिँदै सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ।




