अन्नबाली छाडेर चिराइतो र सतुवामा रमाउन थाले किसान

हिमाल प्रेस १८ असार २०८३ ९:५७ | Thursday, July 2, 2026
2
SHARE
अन्नबाली छाडेर चिराइतो र सतुवामा रमाउन थाले किसान

भोजपुर- भोजपुरका किसानहरू पछिल्लो समय व्यावसायिक जडीबुटीखेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत अन्नबालीको तुलनामा जडीबुटीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखिएपछि यहाँका किसान नयाँ विकल्पका रूपमा यस खेतीतर्फ उन्मुख भएका हुन्। विशेष गरी जिल्लाका उच्च लेकाली तथा चिसो हावापानी भएका भू–भाग जडीबुटी उत्पादनका लागि उपयुक्त मानिँदै आएका छन् । यसले गर्दा यस क्षेत्रको सम्भावना अझै उजागर हुँदै गएको छ।

यहाँका विभिन्न स्थानमा चिराइतो, लोड, सल्ला, सतुवा, पाँचऔँलेलगायत बहुमूल्य जडीबुटीको व्यावसायिक खेती विस्तार हुँदै गएको छ । प्राकृतिक रूपमा पाइने जडीबुटीलाई अहिले किसानले योजनाबद्ध रूपमा खेती गर्न थालेका छन् ।

डिभिजन वन कार्यालयले जडीबुटी खेतीको विस्तारका लागि प्राविधिक ज्ञान, बीउबिजन, तालिम तथा अनुदानमार्फत सहयोग गर्दै आएको छ । कार्यालयको सक्रियताले किसानलाई नयाँ खेती प्रणाली अपनाउन सहज भएको र जोखिम न्यूनीकरणमा सहयोग पुगेको किसानहरूको अनुभव छ ।

स्थानीय किसान नूर्वू शेर्पाले चिराइतो खेतीबाट मात्रै वार्षिक चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताए । ‘पहिलेदेखि नै जडीबुटीखेती गर्दै आएको थिएँ,’ उनले भने, ‘तर अहिले सरकारी सहयोगले यसलाई अझ व्यवस्थित र व्यावसायिक बनाउन सकेको छु ।’ कार्यालयको सहयोगमा अहिले बारीमा ४० हजार बिरुवा विस्तार गरेको उनले जानकारी दिए । साथै उनले तीन किलोग्राम चिराइतोको बीउ छरेको समेत बताए ।

उनीजस्तै अन्य किसानले पनि जडीबुटी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि गाउँघरमै रोजगारी सिर्जना हुन थालेको छ । यसले गर्दा वैदेशिक रोजगारतर्फको निर्भरतासमेत घट्दै गएको छ । व्यावसायिक जडीबुटीखेतीमा संलग्न किसानलाई लक्षित गर्दै डिभिजन वन कार्यालय भोजपुरले हरेक वर्ष अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

कार्यालयका वन अधिकृत नुर मुहम्मद मियाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ‘प्राकृतिक रूपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन’ कार्यक्रमअन्तर्गत छ जना किसानलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले चिराइतो खेतीका लागि अनुदान उपलब्ध गराइएको छ । आगामी वर्षहरूमा थप किसानलाई समेट्दै कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको पनि उनले जानकारी दिए।
कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको सुनिश्चित गर्न कार्यालयले नियमित रूपमा स्थलगत अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा किसानले उदाहरणीय रूपमा जडीबुटीखेती गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा कपुरसिंह धामीले बताए ।

‘राज्यको लगानीको सही उपयोग भएको छ कि छैन भन्ने कुरा हेर्न अनुगमन आवश्यक हुन्छ,’ उनले भने, ‘हालसम्म अनुगमन गरेका किसानले राम्ररी नै काम गरेको देखियो । यस्ता कार्यक्रमले किसानलाई आयआर्जनमा टेवा पुग्ने देखिन्छ ।’

जडीबुटीको मागसँगै मूल्य बर्सेनि वृद्धि हुँदै जानुले किसानलाई थप उत्साहित बनाएको स्थानीय जडीबुटी व्यवसायी प्रेमदोर्ची शेर्पाले बताए । जिल्लाका माथिल्लो भेगका अधिकांश किसान जडीबुटीखेतीमा लागेको उनको भनाइ छ । गत वर्ष चिराइतो प्रतिमन ९४० केजी० ३० देखि ३५ हजार रुपैयाँसम्म बिक्री भएको उनले जानकारी दिए ।

प्रकाशित: १८ असार २०८३ ९:५७ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast