काठमाडौँ– नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासंघले निष्कर्ष निकालेको छ।
महासंघको २६ औँ महाधिवेशन तथा २३ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटले योगदान पु¥याउने विश्वास व्यक्त गरे।
अर्थतन्त्रलाई चलायमान बनाउन तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्न बजेटले महत्वपूर्ण आधार निर्माण गर्नेमा आफूहरु विश्वस्त रहेको उनले बताए।
‘बजेटमा उद्योग तथा व्यवसायमैत्री कर नीतिको सुधार, उद्यमशीलता विकास, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, उत्पादन र रोजगारी अभिवृद्धिमा केन्द्रित योजना, ऊर्जा तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको विषयलाई सकारात्मकरुपमा लिन सकिन्छ,’ बजेटबारे महासंघको धारणा सार्वजनिक गर्दै उनले भने।
महासंघले आर्थिक गतिविधिमा भएको सुस्तता, लगानी विस्तारको चुनौती, उत्पादन तथा बजार व्यवस्थापनका समस्या, वित्तीय पहुँचमा कठिनाइ तथा सिाना उद्योग व्यवसायीले भोग्दै आएका समस्या बजेटले सम्बोधन गर्ने अपेक्षा गरेको छ।
‘नीतिगत सुधारको घोषणाबाट लघु, घरेलु तथा साना उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, उत्पादन लागत घटाउन तथा बजार पहुँच विस्तार गर्न सहयोग पुग्नेछ,’ अध्यक्ष सिंहले भने।
बजेटमा समेटिएका जनमुखी, उत्पादनमुखी तथा विकासमुखी कार्यक्रमको सफल कार्यान्वयनका लागि सरकारसँग सहकार्य गर्न महासंघ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निजी क्षेत्र र सरकार बीचको साझेदारीलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए।
महासंघ स्थापनाको ३७ वर्ष प्रवेशका अवसरमा यही जेठ २४ र २५ गते ललितपुरमा २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आयोजना गरिएको छ।
महाधिवेशनमा सातवटै प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक र महिला उद्यमी प्रतिनिधि गरी करिब एक हजार जनाको सहभागिता रहने अध्यक्ष सिंहले जानकारी दिए।
उद्यमी सम्मेलनले महासंघको सङ्गठनात्मक सुदृढीकरण, विगतको प्रगति समीक्षा, भावी कार्यदिशा एवं नीति तथा कार्यक्रम तर्जुमा गरी आवश्यक नीतिगत सुधारका विषयमा समयसापेक्ष निर्णय गर्ने उनले बताए।
महाधिवेशनले महासंघ र केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।




