काठमाडौँ- आगामी जेठ २८ गतेबाट सुरू हुन लागेको ‘फिफा विश्वकप २०२६’ को आधिकारिक सब्स्क्रिपस्न अभियान औपचारिक रुपमा सुरु भएको छ।
फिफा विश्वकप फुटबल प्रतियोगितालाई नेपाली दर्शकमाफ पुर्याउनका लागि टेलिभिजन र ओटीटी प्लेटफर्मको आधिकारिक सब्स्क्रिप्सन अभियान सुरू भएको हो।
नेपालका लागि फिफा विश्वकपको प्रसारण अधिकारप्राप्त एसप्रो मिडियाले यसको औपचारिक घोषणा गरेको हो।
नेपालमा योपटकको विश्वकप फुटबल हिमालय स्पोर्ट्स च्यानलबाट प्रसारण हुनेछ भने डिजिटलतर्फ डीगो एपमार्फत खेलहरुको स्ट्रिमिङ हुनेछ। फिफाले नेपालका लागि एक्सक्लुजिभ अधिकार दिएका कारण विदेशी टेलिभिजन र स्ट्रिमिङ एपले नेपालभित्र प्रसारण गर्न पाउने छैनन्।
नेपाली दर्शकहरुले तोकिएको शुल्क भुक्तानी गरेपछि विश्वकपका कुल १०४ वटै खेलहरु उत्कृष्ट गुणस्तरमा हेर्न पाउनेछन्। टिभी प्याकेजका लागि करसहित ९९९ रुपैयाँ शुल्क तोकिएको छ भने मोबाइल प्याकेजका लागि करसहित ५४९ रुपैयाँ तोकिएको छ। मोबाइल र ल्यापटप दुवैमा हेर्नका लागि पनि ९९९ रुपैयाँ शुल्क तिरे पुग्नेछ।




