विश्वकपमा समर्थकहरूको सांस्कृतिक उत्सव : विश्वलाई जोड्दै राष्ट्रिय चिनारी

हिमाल प्रेस १४ असार २०८३ २१:४५ | Sunday, June 28, 2026
10
SHARES
विश्वकपमा समर्थकहरूको सांस्कृतिक उत्सव : विश्वलाई जोड्दै राष्ट्रिय चिनारी न्युयोर्कको टाइम्स स्क्वायरमा गत साता ‘भाइकिङ रो’ प्रदर्शन गर्दै नर्वेका समर्थकहरू। तस्बिर : एपी/रासस

फिफा विश्वकप हेर्न संसारका विभिन्न देशबाट हजारौँ किलोमिटर यात्रा गरेर समर्थकहरू अमेरिका, क्यानडा र मेक्सिको पुगेका छन्। उनीहरूले आफ्नो टोलीलाई हौस्याएका मात्र छैनन्, आफ्नो राष्ट्रिय चिनारी र सांस्कृतिक परम्परालाई पनि रंगीन शैलीमा प्रस्तुत गरेका छन्। यसपटक विश्वकपका सबैभन्दा चर्चित दृश्यहरू मैदानभित्रभन्दा बाहिर समर्थकहरूले सिर्जना गरेका सांस्कृतिक प्रदर्शन बनेका छन्।

नर्वेका समर्थकको ‘भाइकिङ रो’ भाइरल

न्यु जर्सीमा सोमबार भएको खेलमा नर्वेले सेनेगललाई ३–२ ले पराजित गरेपछि खेलभन्दा बढी चर्चा स्टेडियमको दर्शकदीर्घामा देखिएको दृश्यको भयो।

गोल भएपछि उफ्रेर खुसी मनाउनुको सट्टा हजारौँ नर्वेली समर्थक एकैसाथ आफ्नो सिटमा बसे र डुंगा खियाएझैँ हात चलाउन थाले।

केही क्षणमै खेलाडीहरूले पनि मैदानमै बसेर यही शैली दोहोर्‍याए। कप्तान मार्टिन ओडेगार्डले ड्रम बजाउँदै टोलीलाई साथ दिएका थिए।

‘भाइकिङ रो’ भनिने यो परम्परामा समर्थकहरू काँधमा काँध जोडेर बस्छन्, विशाल भाइकिङ जहाज खेपेझैँ अभिनय गर्छन् र “रो” (नर्वेली भाषामा ‘डुंगा खियाउनु’) भन्दै एकसाथ स्वर मिलाउँछन्।

विश्वकपअघि मार्चमा स्विट्जरल्यान्डसँगको मैत्रीपूर्ण खेलमा पहिलोपटक देखिएको यो शैली अहिले नर्वेको राष्ट्रिय समर्थन संस्कृतिको प्रतीक बनेको छ।

न्युयोर्क र न्यु जर्सीका सबवे रेलदेखि एस्केलेटरसम्म नर्वेली समर्थकहरूले ‘भाइकिङ रो’ प्रदर्शन गरेका थिए। सोमबार टाइम्स स्क्वायरमा भएको सामूहिक प्रदर्शनमा सहभागी अमेरिकाको टेनेसी राज्यकी एस्ली लकले भनिन्,
‘हजारौँ मानिस एउटै ऊर्जा र भावनामा बाँधिन्छन्, त्यसको अनुभूति नै भिन्न हुन्छ। विश्वकपबाहेक यस्तो दृश्य विरलै देख्न पाइन्छ।’

उनका अनुसार यस्ता सांस्कृतिक प्रदर्शनले मानिसहरूलाई आफ्नो चिनारी अभिव्यक्त गर्ने अवसर दिन्छ।

विश्वकपअघि नर्वेली टोलीले भाइकिङ पोसाक लगाएर टोलीको सामूहिक तस्बिरसमेत खिचाएको थियो। २८ वर्षपछि विश्वकपमा छनोट भएको नर्वे अहिले नकआउट चरणमा पुगिसकेको छ।

‘टार्टन आर्मी’ले भरियो बोस्टन र मियामी

स्कटल्यान्डका समर्थकहरू, जसलाई सामूहिक रूपमा ‘टार्टन आर्मी’ भनिन्छ, ले पनि विश्वकपभर आफ्नो भिन्न चिनारी प्रस्तुत गरेका छन्।

बोस्टनमा करिब ५० हजार स्कटिस समर्थक पुगेका थिए। टोलीको प्रदर्शन मिश्रित रहे पनि उनीहरूको उत्साहमा कुनै कमी देखिएन।

परम्परागत किल्ट पोसाक लगाएका उनीहरू ब्यागपाइपको धुन बजाउँदै सडकमा निस्किए। ब्राजिलविरुद्धको खेलअघि उनीहरूले मियामी मार्लिन्सको बेसबल खेलमा समेत ब्यागपाइपसहित सहभागिता जनाएका थिए।

स्कटिस समर्थकहरूले आफ्नो अर्को अनौठो परम्पराअनुसार बोस्टन र मियामीका विभिन्न सालिकहरूको टाउकोमा ट्राफिक कोन राखेर पनि रमाइलो गरेका थिए।

स्विस समर्थकको घण्टी, दक्षिण अफ्रिकाको भुभुजेलामा प्रतिबन्ध

विश्वकपमा स्विट्जरल्यान्डका समर्थकहरू गाईको घाँटीमा बाँधिने घण्टी (काउबेल) बजाउँदै आफ्नो टोलीलाई समर्थन गरिरहेका छन्।

यद्यपि २०१० को दक्षिण अफ्रिका विश्वकपमा चर्चित बनेको भुभुजेला भने यसपटक देखिएन। स्टेडियमभित्र अत्यधिक आवाज हुने भएकाले प्लास्टिकका ती बाजा तथा अन्य ध्वनि उपकरणमाथि प्रतिबन्ध लगाइएको छ।

राष्ट्रिय चिनारीको नयाँ अभिव्यक्ति

बेलायतको म्यानचेस्टर मेट्रोपोलिटन विश्वविद्यालयका खेल व्यवसायसम्बन्धी प्राध्यापक पल विडप का अनुसार उत्तर अमेरिकामा भइरहेको विश्वकपमा देखिएका यस्ता सांस्कृतिक प्रदर्शनहरूले विश्व खेलकुदमा राष्ट्रिय चिनारी कसरी निर्माण र प्रसारित भइरहेको छ भन्ने स्पष्ट देखाउँछन्।

उनले भने, ‘यी परम्परा साँच्चिकै ऐतिहासिक वा मौलिक हुन् कि होइनन् भन्नेभन्दा पनि तिनले सीमापारसम्म बुझिने सरल र दोहोर्‍याउन सकिने सांस्कृतिक संकेतको रूपमा काम गर्नु महत्त्वपूर्ण हो।’

कंगोका समर्थकले जिउँदो मूर्ति बनेर गरे सम्मान

प्रजातान्त्रिक गणतन्त्र कंगोका समर्थकहरूले भने आफ्नो राष्ट्रिय चिनारी भिन्न शैलीमा प्रस्तुत गरेका छन्।

मिसेल न्कुका म्बोलाडिंगा, जसलाई धेरैले ‘लुमुम्बा भेआ’ भनेर चिन्छन्, प्रत्येक खेलमा देशका प्रथम प्रधानमन्त्री तथा स्वतन्त्रता सेनानी प्याट्रिस लुमुम्बाको मूर्ति बनेर उपस्थित हुन्छन्।

रातो कोट र टाई लगाएर उनी पूरा खेलभर कुनै हाउभाउ नगरी स्थिर उभिन्छन्। उनले राजधानी किन्सासामा रहेको लुमुम्बाको मूर्तिकै मुद्रा दोहोर्‍याउने गरेका छन्।

गत वर्षको अफ्रिका कप अफ नेसन्सबाट चर्चामा आएका उनी यसपटक बोस्टनमा कोलम्बियाविरुद्धको खेलमा पुनः आकर्षणको केन्द्र बने।

लुमुम्बाले सन् १९६० मा बेल्जियमबाट कंगोलाई स्वतन्त्र गराउन नेतृत्व गरेका थिए। उनी स्वतन्त्र कंगोका पहिलो प्रधानमन्त्री बने पनि केही महिनामै हत्या गरिएका थिए।

यद्यपि कंगो कोलम्बियासँग १–० ले पराजित भयो। प्राध्यापक विडपका अनुसार विश्वकपमा राष्ट्रहरू मैदानभित्रका खेलाडीमार्फत मात्र होइन, समर्थकहरूले प्रस्तुत गर्ने भावनात्मक र सांस्कृतिक प्रदर्शनमार्फत पनि प्रतिनिधित्व गरिरहेका हुन्छन्।

पूर्वी कंगोमा जारी द्वन्द्व र बारम्बार देखिने स्वास्थ्य संकटबीच यस्ता राष्ट्रिय प्रतीकहरूले कंगोवासीका लागि थप भावनात्मक अर्थ राख्ने उनी बताउँछन्।

प्रकाशित: १४ असार २०८३ २१:४५ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast