काठमाडौँ- शिक्षा तालिम केन्द्र, धुलिखेलले शिक्षक पेसागत विकास (टीपीडी) तालिम तथा एक महिने प्रमाणीकरण तालिम सम्पन्न गरेका बागमती प्रदेशका शिक्षकहरूलाई प्रमाणपत्र लिन आग्रह गरेको छ।
केन्द्रले शुक्रबार सूचना जारी गर्दै वार्षिक कार्यक्रमअनुसार विभिन्न समयमा सञ्चालन भएका एक महिने टीपीडी तालिम (M1, M2 र M3 मोडुल, P1 र P2 फेज वा तालिम केन्द्रमा आधारित १५ दिन तथा परियोजनामा आधारित १५ दिन गरी कुल ३० कार्यदिन) पूरा गरेका तर हालसम्म प्रमाणपत्र नलिएका शिक्षकहरूलाई साउन मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो।
सूचनाअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट कोडिङ भई नाम शिक्षा तालिम केन्द्र धुलिखेलको वेबसाइटको अभिलेखमा समावेश भएका शिक्षकहरूले शिक्षा तालिम केन्द्र, धुलिखेलबाट सिधै प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, तालिम पूरा गरे पनि कोडिङ नभएका वा केन्द्रको वेबसाइटमा नाम समावेश नभएका शिक्षकहरूले तालिम सम्पन्न गरेको प्रमाणसहित शिक्षा तालिम केन्द्र, धुलिखेलमा निवेदन दिनुपर्नेछ। त्यसपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा कोडिङका लागि विवरण पठाइने केन्द्रले जनाएको छ।
यसका लागि M1, M2 र M3 मोडुल पूरा गरेको प्रमाण वा P1 र P2 फेजको नतिजा अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। केन्द्रले तालिम पूरा गरेको दाबी गरे पनि आफ्नो अभिलेखमा विवरण नभएका शिक्षकलाई प्रमाणपत्र उपलब्ध गराउन नसकिने बताएको छ।
प्रमाणपत्र लिन वा कोडिङका लागि निवेदन पेस गर्दा नागरिकताको प्रतिलिपि, नियुक्तिपत्रको प्रतिलिपि तथा सम्बन्धित व्यक्तिको दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा साथमा ल्याउन पनि केन्द्रले आग्रह गरेको छ।




