काठमाडौँ- प्रतिपक्षी दलहरूले भारतीय भूमि नेपाली पक्षबाट अतिक्रमण भइरहेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अभिव्यक्ति नसच्चाएसम्म संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन्। उनीहरूले मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन्।
नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त त्रुटिपूर्ण र आपत्तिजनक रहेको बताए। उनले भने, ‘हाम्रो पार्टी यो विरोधको कडा विरोध गर्दछ।’ उनले प्रधानमन्त्री वालेनले जानेरै यस्तो अभिव्यक्ति दिएको हो भने खतरनाक रहेको बताए।
उनले प्रधानमन्त्रीले उक्त भनाइ फिर्ता लिएर संसद्मा माफी मागेपछि मात्रै संसद् चल्न दिने बताए।
श्रम संस्कृति पार्टीका हर्कराज राईले प्रधानमन्त्रीजस्तो सरकारको प्रमुख व्यक्तिले राखेको अभिव्यक्ति अविलम्ब सच्याउनुपर्ने माग गरे। उनले प्रधानमन्त्री आएर संसद् बैठकमा आएर त्यसको जबाफ दिनुपर्ने पनि माग गरे। उनले भने, ‘नेपालले भारतको कुनकुन सीमा मिचेको छ, त्यो कुरा यहाँ आएर यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट छैन।’ साथै उनले प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्ने बताए।
राप्रपाकी खुस्बु ओलीले भनिन्, ‘प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिकोणले अन्यन्त गम्भीर विषय बनेको छ।’ उनले प्रधानमन्त्री भनेको व्यक्ति नभएर संस्था रहेको पनि स्मरण गराइन्। साथै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय संकट निम्तिने चिन्ता व्यक्त गरिन्।
नेकपा युवराज दुलालले प्रधानमन्त्रीले राष्ट्रको सीमाको विषयमा बोलेको कुरा राष्ट्रिय चिन्ताको विषय भएकाले यसको समस्याको समाधान संसद्बाट निस्कनैपर्ने बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टी धारणा पनि संसदमा आउनुपर्ने बताए। यसैगरी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसद्का्े रेकर्डबाट हटाउनुपर्ने माग गरे। सीमाको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अन्त्यन्त संवेदनशील रहेको बताए।




