१३ लाखबढी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न

हिमाल प्रेस ८ असार २०८३ १९:१४ | Monday, June 22, 2026
8
SHARES
१३ लाखबढी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न

काठमाडौँ – राष्ट्रिय तथ्यांक कार्यालयले हालसम्म साढे १३ लाखभन्दा बढी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कार्यालयले कागजी प्रश्नावलीमार्फत १३ लाख ४४ हजार ५ सय र ‘इसेन्सस’ वेबपेजमार्फत ७ हजार बढी गरी १३ लाख ५१ हजार ३ सय ३१ प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो।

दोस्रो राष्ट्रिय आर्थिक गणनामा १४ लाख प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना गर्ने लक्ष्य रहेकोमा हाल लक्ष्यको ९१ दशमलव ६ प्रतिशत गणना सम्पन्न भएको कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिए।

देशैभरका विभिन्न जिल्लाका केही गणनाहरु सिस्टममा राख्ने क्रममा जारी रहेकाले यो संख्या बढ्ने उनले बताए। आर्थिक गणना गर्दा केही प्रतिष्ठान एवं व्यवसायको आनाकानी रहे पनि गोपनीयताका बारेमा स्पष्ट पारेपछि अहिले कुनै समस्या नदेखिएको समेत लामिछानेले जानकारी दिए। उनले विगतमा सञ्चालनमा रहेका र हाल बन्द भएका प्रतिष्ठान एवं व्यवसाय करिव ३८ हजारको संख्यामा रहेको उल्लेख गरे।

देशको अर्थतन्त्रको आकार तय गर्ने प्रयोजनका लागि समग्र आर्थिक क्रियाकलापको विश्लेषणका लागि समेत आर्थिक गणना निकै महत्वपूर्ण रहेको कार्यालयले जनाएको छ। दोश्रो आर्थिक गणनाको नतिजा आगामी आर्थिक वर्षदेखि निरन्तर सार्वजनिक गरिने समेत जानकारी दिइएको छ। आर्थिक गणनाका लागि ३ हजार ९ सय ७ गणक र ५ सय २६ सुपरिवेक्षक परिचालन गरिएको थियो।

यसअघि विसं २०७५ मा भएको पहिलो राष्ट्रिय आर्थिक गणनामा नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो।

प्रकाशित: ८ असार २०८३ १९:१४ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast