सस्तोमै चैते धान बेच्न बाध्य मोरङका किसान

हिमाल प्रेस १३ असार २०८३ ६:५६ | Saturday, June 27, 2026
10
SHARES
सस्तोमै चैते धान बेच्न बाध्य मोरङका किसान फाइल तस्बिर

मोरङ- चैते धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। चैते धान उत्पादन बढे पनि मूल्यमा गिरावट आएको किसानले जनाएका छन्।

जिल्लामा गत वर्ष एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिए।

गतवर्ष १७ हजार ७५५ हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ८५७ हेक्टर पुगेको उनले बताए। गत वर्ष ५ दशमलव ७१ उत्पादकत्व भएकोमा यसवर्ष वृद्धिभई ५ दशमलव ८० पुगेको हो।

अघिल्लो साल चैते धानको मूल्य क्वीन्टल दुई हजार सात सयसम्म पुगेकोमा यस वर्ष घटेर क्वीन्टल दुई हजार सम्मममा भइरहेको रंगेली नगरपालिका-१ का किसान चन्द्र अधिकारी बताउँछन्।

चैते धानले लगानी पनि नउठेको गुनासो गर्दै बेलबारी-९ नलबारीका किसान नरबहादुर कटुवालले भने,‘भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, किसानको पहुँचमा भण्डारण हुने थियो भने यति सस्तोमा धान बेच्नुपर्ने थिएन।’

कृषि ज्ञान केन्द्रका अनुसार १७ पालिकामध्ये सुन्दरहरैंचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रंगेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन्।

प्रकाशित: १३ असार २०८३ ६:५६ | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast