‘खुस्मा’निर्देशकले मंसिर ४ मा ‘जलाकी’ ल्याउँदै, उपासनाको जोडी सोनम तोप्देनसँग बाँधियो

हिमाल प्रेस १५ असार २०८३ १३:०४ | Monday, June 29, 2026
8
SHARES
‘खुस्मा’निर्देशकले मंसिर ४ मा ‘जलाकी’ ल्याउँदै, उपासनाको जोडी सोनम तोप्देनसँग बाँधियो

काठमाडौँ- ‘खुस्मा’का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’ छठ पर्व लगत्तै प्रदर्शनमा आउने भएको छ । सोमबार राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा फिल्मका दुईवटा पोस्टर सार्वजनिक गर्दै मंसिर ४ गतेलाई प्रदर्शन मिति तय गरिएको हो । अहिलेसम्म अरु फिल्मले भने यो मिति रोजेका छैनन् ।

सार्वजनिक दुईमध्ये एक पोस्टरमा फिल्मका मुख्य जोडी उपासना सिंह ठकुरी र सोनम तोप्देन रोमान्टिक अवतारमा देखिएका छन् । अर्को पोस्टर भने ठीक विपरित छ । अर्थात् उपासना र सोनम निराश र भावुक मुद्रामा देखिएका छन् । यसले उनीहरूको सम्बन्धमा आउने आरोह–अवरोह र अन्तर्द्वन्द्वलाई फिल्मले मुख्य विषयवस्तु बनाएको स्पष्ट संकेत गर्छ ।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा फिल्ममा प्रस्तुत गरिएको निर्देशक मगरले बताए । उनका अनुसार फिल्ममा मगर संस्कृति र प्रेमको मिश्रण छ ।

फिल्ममा सोनम र उपासनासहित साहारा हाङमा लिम्बू, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, रजनी गरुङ, उषा खड्की, खड्क बहादुर पुनलगायतका कलाकारहरूको अभिनय रहेको छ । ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी निर्माता रहेको फिल्मलाई शैलेन्द्र डी कार्कीले छायांकन गरेका हुन् ।

प्रकाशित: १५ असार २०८३ १३:०४ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast