हिमालप्रेसकर्मी विजय नेपाललाई ५१ हजार राशिको रोटरी जर्नो अवार्ड 

हिमाल प्रेस १२ असार २०८३ २०:२८ | Friday, June 26, 2026
18
SHARES
हिमालप्रेसकर्मी विजय नेपाललाई ५१ हजार राशिको रोटरी जर्नो अवार्ड 

काठमाडौँ– हिमालप्रेसका गण्डकी प्रदेश संवाददाता विजय नेपाललाई रोटरी जर्नो अवार्ड–२०२६ प्रदान गरिएको छ। रोटरी इन्टरनेसनल डिस्ट्रक्ट ३२९२ (नेपाल–भुटान) द्वारा शुक्रबार काठमाडौँमा आयोजित समारोहमा उनीसहित सात जना पत्रकारलाई जनही नगद ५१ हजारसहित उक्त अवार्ड प्रदान गरिएको हो।

स्थायी घर पाल्पाको रिब्दीकोट- ७ मैनादी भएका पत्रकार नेपाल दुई दशकदेखि पोखरामा रहेर पत्रकारितामा क्रियाशील छन्।  सोही समारोहमा आदित्यमान श्रेष्ठलाई एक लाख एक हजार राशिको यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको  थियो।

रोटरी जर्नो अवार्ड प्राप्त गर्ने अन्य पत्रकारहरूमा गोरखाका सुदीप कैनी, सिन्धुलीका सागर बुढाथोकी, सुनसरीका विकल रेग्मी, ओखलढुंगाका सरोज ढुंगेल, काठमाडौँकी उर्वशी बस्न्यात र बाँकेकी रूपा गहतराज छन्।

समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेसनल डाइरेक्टर नोमिनी वासुदेव गोल्यान, रोटरीका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले पत्रकारलाई पुरस्कृत गरे। पत्रकारितामार्फत समाजमा सकारात्मक सिर्जना गर्ने पत्रकारलाई रोटरीले सन् २०११ देखि रोटरी जर्नो अवार्ड प्रदान गर्दै आएको छ।

यसअघि लाइफटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ पत्रकार भैरव रिसाल र भारतदत्त कोइराला सम्मानित भएका थिए।  रोटरीले सेवा गर्ने क्षेत्रलाई आधार मानेर विभिन्न विधामा देशभरीबाट अनलाइन आवेदन माग गरेकोमा छनोट समितिले उत्कृष्ट पत्रकारको छनोट गरेको रोटरी जर्नो अवार्ड कमिटी अध्यक्ष सुरेश आचार्यले जानकारी दिए।

जुरी प्यानल कोअर्डिनेटर वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पत्रकारको क्षमता आधारमा निकै स्वच्छ र पारदर्शी ढंगले छनोट गरिएको बताए।  प्रमुख अतिथि गोल्यानले पुरस्कृत सम्पूर्ण पत्रकारलाई बधाई दिँदै यसबाट अब्बल र मेहनती पत्रकारलाई अझ अगाडि बढ्ने प्रेरणा मिल्ने बताए। उनले रोटरी एक इन्टरनेसनल संस्था भएको उल्लेख्य गर्दै समाजमा यसको कामबाट अहिले झन् सकारात्मक सुनिन थालेको बताए।

कार्यक्रमका अध्यक्ष डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले रोटरीले समाजिक सेवा सँगसँगै पत्रकारलाई पनि बर्सेनि पुरस्कृत गर्दै आएको बताए। रोटरीका १२ लाख सदस्य रहेको उल्लेख गर्दै समाजमा भोकेस्नल सर्भिसलाई विश्वास गर्ने बताए। उनले भने, ‘रोटरीले पेसागत मर्यादालाई उच्च सम्मान गर्छ। रोटरीले स्वार्थभन्दा माथि उठेर श्रम, पैसा, समय र क्षमता समाजमा डोजेट गर्ने काम गर्छ। रोटरीले गरेका कामलाई सकारात्मक ढंगले बुझिदिन पनि आग्रह गर्छु।’

प्रकाशित: १२ असार २०८३ २०:२८ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast