निजी क्षेत्रको आत्मविश्वास पुनः स्थापित गर्न सरकारले सुधारको घोषणा गरेको छ : अर्थमन्त्री

हिमाल प्रेस २२ जेठ २०८३ १५:०९ | Friday, June 5, 2026
18
SHARES
निजी क्षेत्रको आत्मविश्वास पुनः स्थापित गर्न सरकारले सुधारको घोषणा गरेको छ : अर्थमन्त्री अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनःस्थापित गर्ने गरी सरकारले अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका छन्।

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा शुक्रबारदेखि काठमाडौँमा सुरु फिन इलेक्ट्रो–टेक उद्घाटन गर्दै मन्त्री वाग्लेले अस्पष्ट ऐन, नियमावली, कार्यविधिको सुधारका साथ निजी क्षेत्रको आत्मविश्वासलाई पुनःस्थापित गर्ने गरी अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताए।

उनले ४८ सालपछि एकैपटक त्यति ठुलो महत्वाकांक्षा राखेर अर्थतन्त्रमा सुधारहरू घोषणा गरिएको यो पहिलो पटक भएको बताए। उनले सडक पूर्वाधारमा लामो समयदेखि थाति राखिएका तर कार्यान्वयन हुन नसकिरहेका अधुरा कार्यहरुलाई टुङ्गाएर छाड्ने बताए।

राजनीतिक श्रेयको होडबाजीमा लाग्नु हुन्न भनेर उदारतापूर्वक अधुरा आयोजनालाई सम्पन्न गर्न पर्याप्त बजेट बिनियोजन गरिएको उनले जानकारी दिए। उनले ऊर्जा मन्त्रालयका तर्फबाट पनि रोकिएका ट्रान्समिसन लाईन निर्माणको कार्यलाई एक वर्षभित्रै सम्पन्न गर्नका लागि सात–आठ अर्ब विनियोजन गरिएको उल्लेख गरे।

मन्त्री वाग्लेले गरिबहरूलाई पैसा बाँड्दैमा गरिबीबाट माथि आउने नभएकाले गरिबी हटाउनका लागि रोजगारीको आवश्यक रहेको धारणा राखे। यसका लागि पनि निजि क्षेत्र चलायमान हुन आवश्यक रहेको उनको भनाइ छ।

उनले सरकारले अघि सारेको करको व्यवस्थाप्रति अन्यौलता राख्न जरुरी नभएको बताए। अन्तिम उपभोक्तालाई भार नपर्ने गरी करका विषयमा सरकारले आवश्यक योजना ल्याउने उनको भनाइ छ। उनले जनताको ठूलो म्यान्डेट पाएको सरकारले नै देश र अर्थतन्त्रको सुधार गर्ने भएकाले यसबारे जनतालाई बुझाएर नै अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: २२ जेठ २०८३ १५:०९ | Friday, June 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast