काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल अहिले भारत भ्रमणमा छन्। भारतका विदेशमन्त्री डा एस जयशंकरको निमन्त्रणमा भएको भ्रमणमा विभन्न सहमति भएको हो। नयाँ दिल्लीमा द्विपक्षीय वार्तामा विकास सहकार्य, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा र जनता–जनताबीचको सम्बन्ध लगायत भारत–नेपाल द्विपक्षीय सम्बन्धका समग्र पक्षहरुको समीक्षा भएको स्रोतले जनाएको छ। दुईपक्षीयबीच आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयहरुमा पनि आफ्ना विचार साटासाट भए।
द्विपक्षीय वार्ताका सहमति
१. क. भारतका विदेशमन्त्रीले नेपालका परराष्ट्रमन्त्रीलाई नेपालका लागि भारतको सन् २०१५ को ‘भूकम्पपछिको पुनर्निर्माण सहयोग’ अन्तर्गत सम्पन्न भएका ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु हस्तान्तरण गर्ने ।
ख. भारत र नेपालबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन संयुक्त रुपमा भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच पियर–टु–पियर (पीटुपी) आबद्धताको सुरुवात गर्ने ।
ग. ‘भोइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह–निर्माण गर्न डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच समझदारी पत्रमा भएको हस्ताक्षर
२. दुई देशबीचको विशिष्ट र विशेष सम्बन्धलाई प्रतिबिम्बित गर्दै छलफलहरु न्यानो, मैत्रीपूर्ण र रचनात्मक वातावरणमा सम्पन्न भए ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरे। सन् २०२६ मार्चमा नेपालमा नयाँ सरकारले कार्यभार सम्हालेयता दुई देशबीच परराष्ट्रमन्त्री स्तरमा भएको यो पहिलो भ्रमण हो। भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपाल एक प्राथमिकतामा रहेको साझेदार हो र यस भ्रमणले दुई घनिष्ठ तथा मित्रवत छिमेकीहरुबीच नियमित उच्च–स्तरीय आदानप्रदानको परम्परालाई थप सुदृढ बनाएको छ ।




