व्यक्तिगत प्रयोजनको सामानमा भन्सार छुटको सीमा ५ सय रुपैयाँ पुर्‍याइयो

हिमाल प्रेस २० जेठ २०८३ १९:२२ | Wednesday, June 3, 2026
12
SHARES
व्यक्तिगत प्रयोजनको सामानमा भन्सार छुटको सीमा ५ सय रुपैयाँ पुर्‍याइयो

काठमाडौँ- सरकारले स्थलमार्ग (नाका) बाट आवतजावत गर्ने यात्रुहरुले व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानको भन्सार महसुल छुटको सीमा बढाएर पाँच सय रुपैयाँ पुर्‍याएको छ।

यसअघि यो सीमा सय रुपैयाा रहेकोमा सरकारले अहिले पाँच सय पुर्‍याएको हो।

लामो समयदेखि यो छुटको सीमा सय रुपैयाँ तोकिएको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। यो सीमा कार्यान्वयनमा नआउँदा यात्रुहरुले महसुल नतिरी बढी मूल्यका सामानहरू भित्र्याउँदै आएका थिए।

यसै महिनाको सुरुवातमा सुरक्षाकर्मीहरूले भारतीय सीमापारीबाट नेपालीहरूले ल्याएका दैनिक उपभोग्य वस्तुहरू जफत गरेपछि सरकारको चर्को विरोध भएको थियो।

कानुनमा सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा महसुल तिर्नुपर्ने व्यवस्था रहे पनि व्यवहारमा उतार्न कठिनाइ देखिएको थियो। संशोधित सीमाले दैनिक रुपमा घरायसी सामान खरिद गर्न सीमापारी जाने सीमावर्ती क्षेत्रका वासिन्दालाई राहत दिने सरकारले अपेक्षा गरेको छ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार भन्सार ऐनको दफा २० (१) र भन्सार महसुल ऐनको दफा १३ (३) बमोजिम यो निर्णय गरिएको हो।

राजपत्रको सूचनाको दफा ५(१) अनुसार स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुले सामानको औचित्य पुष्टि र भन्सार अधिकृतको तजबिजीको अधिनमा रही पाँच सय रुपैयाँसम्मको व्यक्तिगत प्रयोजन र साना घरायसी सामानहरू भन्सार महसुलविना ल्याउन पाउनेछन्।

सरकारले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सहयोग गर्न र डिजिटल सिकाइलाई प्रवद्र्धन गर्न नयाँ शैक्षिक सहुलियतको पनि घोषणा गरेको छ।

राजपत्रको सूचनाको दफा ५ (२) को विशेष व्यवस्थाअन्तर्गत भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले नेपालभित्र ल्याउने वा नेपालबाहिर लैजाने एउटा ल्यापटक, ट्याबलेट वा कम्प्युटरमा पूर्ण रुपमा भन्सार महसुल छुट पाउनेछन्।

यो पहल प्रविधिको पहुँच बढाउन र दुई देशबीच आउजाउ गर्ने विद्यार्थीहरुको व्यवाहरिक कठिनाईलाई कम गर्ने उद्देश्यले ल्याइएको हो।

प्रकाशित: २० जेठ २०८३ १९:२२ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast