धुलिखेलमा सञ्चालित बृहत् खानेपानी आयोजना फेरि बनाउन थालियो

हिमाल प्रेस २३ जेठ २०८३ ६:२० | Saturday, June 6, 2026
8
SHARES
धुलिखेलमा सञ्चालित बृहत् खानेपानी आयोजना फेरि बनाउन थालियो

काठमाडौँ- विसं २०८१ असोजको बाढी पहिरोले क्षतिग्रस्त काभ्रेपलान्चोक सदरमुकाम धुलिखेलमा सञ्चालित बृहत् खानेपानी आयोजनाको पुनः निर्माण गरिएको छ । त्यति बेला पनौती नगरपालिका–१२ स्थित सप्तकन्या मुहान क्षेत्रलगायत भौतिक संरचना तथा पाइपलाइनमा ठुलो क्षति पुगेको थियो ।

धुलिखेल खानेपानी आयोजनाको ६० प्रतिशत र जर्मन सहयोग नियाग (जिआईजेड) को ४० प्रतिशत आर्थिक सहयोगमा पुनः निर्माण सम्पन्न भएको नगरका कार्यवाहक प्रमुख निराजन जङ्गमले बताए । उनका अनुसार बाढीले मुहान क्षेत्र खारखोलामा १५० मिटर मुख्य पाइप लाइनसमेत बगाएको थियो । त्यति बेला धुलिखेलमा तीन महिना खानेपानी अवरुद्ध भएको थियो ।

आयोजना रु तीन करोड ५१ लाख लागतमा पुनः निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णभूषण खोजुले जानकारी दिए । गत वर्ष जेठ २० गते पुनः निर्माण थालिएको थियो । यसका लागि सम्झौताअनुसार जर्मन सरकारबाट ६० प्रतिशत अर्थात् रु एक करोड ४५ लाख अनुदान प्राप्त भएको उनले बताए ।

जर्मन सरकारले सन् १९९२ मा उक्त आयोजना निर्माणमा सहयोग गरेको थियो । बाढी पहिरोको क्षतिपछि नगरले जर्मन राजदूतावासलाई सहयोगका लागि अनुरोध गरेको थियो । प्राप्त सहयोग रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनः निर्माण गरिएको हो ।

बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका तीन हजार ६०० परिवार खानेपानी सुविधाबाट वञ्चित भएका थिए । त्यति बेला करिब रु २० लाख खर्चेर अस्थायी व्यवस्थापन गरी खानेपानीको व्यवस्था गरिएको थियो ।

प्रकाशित: २३ जेठ २०८३ ६:२० | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast