प्रतिनिधिसभाको आइतबारको बैठकमा विरोध गर्दै विपक्षी दलका सांसदहरू।
काठमाडौँ- प्रतिनिधिसभामा आइतबार भएको अव्यवस्था, अमर्यादित तथा आपत्तिजनक व्यवहार र संसद् भवनमा भएको भौतिक क्षतिको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।
सभामुख डोलप्रसाद अर्यालले सोमबार प्रतिनिधिसभा बैठकमा उक्त घटनाबारे आवश्यक थप जाँचबुझ गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिँदै छानबिन समिति गठन गरिएको जानकारी गराएका हुन्।
सभामुखले आइतबारको बैठकका क्रममा केही सांसदबाट अव्यवस्था सिर्जना गर्ने, अमर्यादित तथा आपत्तिजनक व्यवहार प्रदर्शन गर्ने र संसद् भवनमा भौतिक हानिनोक्सानी तथा क्षति पुर्याउने कार्य भएको जानकारी प्राप्त भएको बताए। उनले घटनासम्बन्धी मुचुल्कासमेत तयार पारिएको बताए।
घटना छानबिनका लागि प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना महाशाखा प्रमुख तथा प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य छन्।
सभामुख अर्यालले समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम घटनामा संलग्नलाई आवश्यक कारबाही अगाडि बढाउन सकिने बताए।
यसअघि आइतबारको बैठकमा प्रतिनिधिसभा नियमावली पारितको प्रक्रियाप्रति असहमति जनाउँदै विपक्षी दलका सांसदहरुले वेल घेराउसहित विरोध गरेका थिए। सो क्रममा केही कुर्सी र माइकमा समेत क्षति पुगेपछि जाँचबुझका लागि समिति गठन गरिएको हो।




