काठमाडौँ- एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनोट भएको नेपालले उपाधिका लागि सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’को उपविजेता ओमानसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा नेपालले ओमानसँग आइतबार बिहान ७ः१५ बजे सिंगापुरमा प्रतिस्पर्धा गर्नेछ ।
समूह चरणका दुवै खेलमा विजयी भएको नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । त्यसैगरी दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता हङकङ र समूह ‘ए’को उपविजेता मलेसियाले प्रतिस्पर्धा गर्दैछन् । दोस्रो सेमिफाइनल आइतबार दिउँसो १२ः१५ बजे सिंगापुरमा हुनेछ ।
पहिलो खेलमा चीनलाई २२१ रनले हराएको नेपालले दोस्रो खेलमा मलेसियालाई १६७ रनले हराउँदै समूह विजेता बनेको हो ।
पहिलो जितसँगै एसियन गेम्समा स्थान बनाइ सकेको नेपाल छनोटको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा हुनेछ । समूह ‘ए’बाट नेपाल र मलेसिया एसियन गेम्समा छनोट भएका छन् भने समूह ‘बी’बाट ओमान र हङकङ छनोट भइसकेका छन् ।
छनोट प्रतियोगिताबाट समूह ‘ए’का चीन र कतारसँगै समूह ‘बी’बाट बहराइन र सिंगापुर बाहिरिएका छन् ।




