धनकुटा एकै दिन ७९५ किलो गाँजा बरामद, दुई पक्राउ

हिमाल प्रेस १५ असार २०८३ २०:२० | Monday, June 29, 2026
34
SHARES
धनकुटा एकै दिन ७९५ किलो गाँजा बरामद, दुई पक्राउ

धनकुटा– धनकुटा प्रहरीले एकै दिन दुई छुट्टाछुट्टै स्थानमा गरेको कारबाहीमा कुल ७ सय ९५ किलोग्राम गाँजा बरामद गरेको छ भने दुई पक्राउ परेका छन् । प्रहरीका अनुसार सवारी जाँचका क्रममा गाँजा बरामद भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाएको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका वडा नं. ६ कोलबोटेमा सवारी जाँच गर्ने क्रममा धनकुटाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रक रोकी खानतलासी गरेको थियो ।

जाँचका क्रममा ट्रकमा आलुको बोराले छोपेर ल्याइएको अवस्थामा २५ वटा पोकामा प्रति पोका ३१ किलोग्रामका दरले जम्मा ७ सय ७५ किलोग्राम गाँजा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

घटनासँगै मिनी ट्रक चालक धनकुटाको पाख्रिबास नगरपालिका–१ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्दै आएका ३३ वर्षीय परीक्षण कुँवर पक्राउ परेका छन् ।

उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक रञ्जितकारले जानकारी दिए । यस्तै प्रहरी चौकी डाँडाबजारबाट खटिएको टोलीले साँगुरीगढी गाउँपालिका–७ लुम्फाजुङबाट बा ६४ प १४३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बोराभित्र रहेको जेब्रा झोलामा लुकाएर राखिएको २० किलोग्राम गाँजा बरामद गरेको छ ।

उक्त घटनामा साँगुरीगढी गाउँपालिका–५ का २४ वर्षीय विशेष राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि पनि लागूऔषध ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित: १५ असार २०८३ २०:२० | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast