इजरायली सेनाको गोलीबारीमा ७ महिनाका बालकको मृत्यु

हिमाल प्रेस २४ जेठ २०८३ १६:२७ | Sunday, June 7, 2026
12
SHARES
इजरायली सेनाको गोलीबारीमा ७ महिनाका बालकको मृत्यु फाइल तस्बिर : एएफपी

काठमाडौँ– कब्जामा रहेको पश्चिमी किनाराको हेब्रोन क्षेत्र नजिक इजरायली सेनाले एक सवारीसाधनमाथि गोली चलाउँदा ७ महिनाका एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन्।

घटनाबारे प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार शिशुको अनुहारमा गोली लागेका कारण घटनास्थलमै मृत्यु भएको थियो। घाइते भएका उनका पिता र आमाको उपचार भइरहेको छ। आमाको अवस्था गम्भीर रहेको बताइएको छ।

इजरायली सेनाले भने आफ्ना सैनिकहरूले आफूहरूतर्फ तीव्र गतिमा आइरहेको जस्तो देखिएको एक सवारीसाधनलाई लक्षित गरी गोली चलाएको जनाएको छ। सेनाको प्रारम्भिक अनुसन्धानले घाइते भएका तीनै जना सर्वसाधारण रहेको र उनीहरूको कुनै संलग्नता नरहेको देखाएको बताइएको छ।

एक विश्वविद्यालयका प्राध्यापक समेत रहेका शिशुका पिताका अनुसार परिवारका सदस्यहरू सवारीसाधनमा यात्रा गरिरहेका बेला अचानक गोलीबारी भएको थियो। उनका अनुसार एउटा गोली अगाडिको सिसा छेड्दै उनको हातमा लागेर पछाडिको सिटमा रहेका शिशुसम्म पुगेको थियो। सोही क्रममा शिशुको अनुहारमा गम्भीर चोट लागेको थियो।

घटनामा शिशुकी आमालाई पनि चोट लागेको छ। चिकित्सकहरूका अनुसार उनको मुटुनजिक छर्रा अड्किएको छ र अवस्था चिन्ताजनक रहेको छ।

परिवारका सदस्यहरूका अनुसार उनीहरू सैन्य जाँचचौकी नजिक पुग्दा टाढाबाट सैनिक र सैन्य सवारीसाधन देखेपछि गाडी रोकेका थिए। सुरुमा सुनिएको गोलीको आवाज चेतावनीका लागि चलाइएको हो भन्ने लागेको भए पनि केही क्षणमै गम्भीर दुर्घटना भएको उनीहरूको भनाइ छ।

शिशुको मृत्युले स्थानीय समुदायमा शोक छाएको छ। अन्त्येष्टिका क्रममा उनको शवलाई प्यालेस्टिनी झन्डाले बेरिएको थियो। परिवारले घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरेको छ।

सन् २०२३ अक्टोबरमा गाजामा युद्ध सुरु भएयता पश्चिमी किनारामा इजरायली सैन्य कारबाही तथा प्यालेस्टिनीहरूविरुद्ध हुने हिंसात्मक घटनामा उल्लेख्य वृद्धि भएको विभिन्न मानवअधिकार संस्थाहरूले जनाउँदै आएका छन्।–रासस

प्रकाशित: २४ जेठ २०८३ १६:२७ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast