काठमाडौँ- सन् २०२६ को मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनमा मात्र एक लाख दुई हजार ६२६ विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्।
यो संख्या सन् २०२५ को मेको तुलनामा १९ प्रतिशतले बढी हो भने कोरोना महामारीअघि सन् २०१९ को मेको तुलनामा ३१ प्रतिशतले बढी हो। बोर्डका अनुसार सन् २०२५ को मेमा ८६ हजार २१६, सन् २०२४ को मेमा ९० हजार २११ र सन् २०१९ को सोही अवधिमा ७८ हजार ३२९ पर्यटकले नेपाल भ्रमण गरेका थिए।
बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस वर्षको मेमा सन् २०२५ को भन्दा १९ प्रतिशत र सन् २०१९ को सोही अवघिको तुलनामा ३१ प्रतिशतले पर्यटक आवागमन बढेको छ। उनले भने, ‘मे आरोहण, पदयात्रालगायतका पर्यटकीय गतिविधिका हिसाबले महत्वपूर्ण मानिन्छ । यो समयमा भारतमा गर्मी समय सुरु हुने भएकाले गर्मी छल्न आउने भारतीय पर्यटकको आकर्षणसमेत बढ्ने गरेको र दक्षिण एसियाली मुलुकका नागरिकले पनि नेपाललाई सस्तो पर्यटकीय गन्तव्यका रूपमा लिन थालेकाले मेमा गत वर्षभन्दा झन्डै ४२ प्रतिशतले बढेको छ।’
पछिल्लो समय डलरको मूल्यसमेत बढ्दै गएको र डलरको दबाबका कारण भारत सरकारले विदेश भ्रमणसम्बन्धी खर्चमा नियन्त्रण गर्ने कदम अपनाएपछि भारतीय पर्यटकका लागि नेपाल सस्तो मुलुकमा पर्ने भएकाले मेमा मात्रै झन्डै ४० प्रतिशत भारतीय पर्यटक बढेको उनले बताए।
उनका अनुसार गत वर्षको मेमा २८ हजार १६० भारतीय पर्यटक नेपालमा आएकामा यो वर्षको सोही अवधिमा ४० हजार ७८२ भारतीय पर्यटकको आवागमन भएको छ। तथ्यांक अनुसार मेमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ४० हजार ७८२, दोस्रोमा चीनबाट ११ हजार ५१४, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट नौ हजार एक, चौथोमा बङ्गलादेशबाट पाँच हजार २९८ र पाँचौँमा अमेरिकाबाट तीन हजार ३७५ पर्यटक नेपाल घुम्न आएका छन् ।
त्यसै गरी क्षेत्रगत रूपमा सार्क मुलुकबाट ४७।२ प्रतिशत (४८ हजार ४६१), अन्य एसियाली मुलुकबाट १९.९ प्रतिशत (२० हजार ६६२), युरोपबाट १३.१ प्रतिशत (१३ हजार ४४०), अमेरिका क्षेत्रबाट १०।३ प्रतिशत (१० हजार ६१८) मध्यपूर्वबाट १।५ प्रतिशत (एक हजार ५११) र अन्य मुलुकबाट ४.१ प्रतिशत (चार हजार ६१२) विदेशी नेपाल आएका छन् ।
पाँच महिनामा पाँच लाखभन्दा बढी पर्यटक
सन् २०२६ को पाँच महिनामा पाँच लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म पाँच लाख २९ हजार ६३ विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यसअघि सन् २०२५ को पाँच महिनामा पाँच लाख एक हजार २६४ र सन् २०२४ को सोही अवधिमा पाँच लाख छ हजार २८० विदेशी पर्यटक नेपाल भित्रिएका थिए।
बोर्डका अनुसार यस वर्षको जनवरीमा ९२ हजार ५७३, फेब्रुअरीमा एक लाख पाँच हजार ४१४, मार्चमा एक लाख २० हजार ५१६ र अप्रिलमा एक लाख सात हजार ९३४ पर्यटक नेपाल आएका थिए ।




