रास्वपामा १९ पदाधिकारी, नेतृत्व चयन प्रक्रिया सोमबारदेखि

हिमाल प्रेस ७ असार २०८३ १५:५७ | Sunday, June 21, 2026
20
SHARES
रास्वपामा १९ पदाधिकारी, नेतृत्व चयन प्रक्रिया सोमबारदेखि चितवनमा आइतबार सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनस्थलमा उपस्थित केन्द्रीय पदाधिकारीहरू। तस्बिर : रासस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबार उद्घाटन भएको छ। चितवनको भरतपुरमा आइतबार महाधिवेशन पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री एवम् वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) ले घण्टी बजाएर उद्घान गरेका हुन्।

नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सोमबारदेखि प्रारम्भ हुने पार्टीेले जनाएको छ।

महाधिवेशनपूर्व शनिबार भरतपुरमा बसेको वर्तमान केन्द्रीय कार्यसमितिको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ। संशोधित विधानअनुसार पार्टीको केन्द्रीय कार्यसमितिमा पदाधिकारीको संख्या वृद्धि गरिएको छ।

नयाँ व्यवस्थाअनुसार रास्वपामा १९ पदाधिकारी रहनेछन्। जसमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (कम्तीमा एक महिला), दुई महामन्त्री, पाँच सहमहामन्त्री (कम्तीमा एक महिला), एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता रहने व्यवस्था गरिएको छ।

संशोधित विधानअनुसार सभापति र ९९ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्नेछन्। सातै प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य रहने व्यवस्था पनि गरिएको छ। यससँगै महाधिवेशनपछि रास्वपाको केन्द्रीय कार्यसमिति १५८ सदस्यीय बन्नेछ।

नयाँ नेतृत्वमा वर्तमान सभापति रवि लामिछाने नै सर्वसम्मत निर्वाचित हुने लगभग निश्चित देखिएको छ। सभापति पदका लागि हालसम्म अन्य कुनै दाबेदारी नआएकाले उनको पुनर्निर्वाचन सहज देखिएको हो। त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहका लागि सिर्जना गरिएको वरिष्ठ नेता पदमा पनि अन्य कुनै दाबेदार देखिएका छैनन्। यसले शाह वरिष्ठ नेतामा निर्वाचित हुने सम्भावना बलियो बनाएको छ।

यद्यपि उपसभापति, महामन्त्री तथा अन्य पदाधिकारी पदका लागि भने प्रतिस्पर्धा हुने संकेत देखिएको छ। नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन विभागले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ।

सार्वजनिक कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयन फाराम सोमबार दिउँसो १ बजेदेखि वितरण गरिनेछ। उम्मेदवारी दर्ताको समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको छ।

उम्मेदवारहरूको प्रारम्भिक नामावली सोमबार साँझ ६ बजे प्रकाशन गरिनेछ। त्यसपछि साँझ ६ बजेदेखि ७ बजेसम्म दाबी–विरोधको समय राखिएको छ। उम्मेदवारी फिर्ता लिने अन्तिम समय राति ९ः१५ बजेसम्म निर्धारण गरिएको छ भने उम्मेदवारहरूको अन्तिम नामावली राति ११ बजे प्रकाशन हुनेछ।

निर्वाचन विभागका अनुसार पहिलो चरणअन्तर्गत सभापति र केन्द्रीय सदस्यहरूको मतदान मंगलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। दोस्रो चरणका पदाधिकारीहरूको उम्मेदवारी र निर्वाचनसम्बन्धी विस्तृत कार्यतालिका भने पछि सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित: ७ असार २०८३ १५:५७ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast