काठमाडौँ- माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओमा आज (असार ३)देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई बिक्री खुलाएको हो ।
कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको थियो ।
यसमध्ये आठ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र एक लाख ७२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले ३४ हजार ४०० कित्ता सेयर कर्मचारीका लागि र ८६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ ।
कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्नेछ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा असार ८ गते हुनेछ भने ढिलोमा असार १७ गते हुनेछ ।




