काठमाडौँ- ललितपुरको गोदावरी नगरपालिका ४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गत गाईमारे चुरे वन क्षेत्रमा टेम्पो भिरबाट खसेको घटनाबारे डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ।
डिभिजन वन कार्यालयका अनुसार वन कर्मचारीले जानाजान वा नियतवश टेम्पो भिरबाट नखसालेको स्पष्ट गरिएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले उक्त टेम्पो चल्न नसक्ने अवस्थामा रहेको, चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको तथा लामो समयदेखि वन क्षेत्र अतिक्रमण गरी बनाइएको अस्थायी संरचना भएको जनाएको छ। कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डा रामविचारी ठाकुर का अनुसार गाईमारे क्षेत्र चुरे संरक्षणका हिसाबले अत्यन्त संवेदनशील भएकाले त्यहाँ अतिक्रमण रोक्न नियमित अभियान सञ्चालन हुँदै आएको छ।
उनका अनुसार सार्वजनिक वन क्षेत्रमा अवैध रूपमा टहरा बनाउने, किनबेच गर्ने र लामो समयदेखि संरचना राख्ने गतिविधि भइरहेको पाइएको छ। करिब पाँच महिनाअघि सो क्षेत्रमा पुनः अवैध संरचना बनेको र एक महिनाअघि ती हटाउन निर्देशन दिइएको कार्यालयले जनाएको छ। केही संरचना हटाइए पनि सम्बन्धित व्यक्तिले प्रयोग गर्दै आएको टेम्पो हटाउन अस्वीकार गरेको बताइएको छ।
वन कार्यालयका अनुसार यसअघि पनि सो टेम्पो हटाइदिएर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइएको थियो, तर पछि पुनः सोही स्थानमा राखेर पसल सञ्चालन गरिएको थियो। अभियानका क्रममा जेठ २९ गते टेम्पो हटाउन आग्रह गर्दा अस्वीकार र गालीगलौज भएपछि कर्मचारीले हटाउने प्रयास गरेका थिए। त्यस क्रममा भिरालो भू–भाग र असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई दुर्घटनावश भीरबाट खसेको कार्यालयले जनाएको छ।
वन कार्यालयले घटनालाई अतिरञ्जित नगर्न आग्रह गर्दै कानुनअनुसार वन संरक्षण तथा अतिक्रमण नियन्त्रण कार्य भइरहेको स्पष्ट पारेको छ।व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम छ। मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने तालिका रहेको छ।




