पुस्तक चर्चा

ज्वलन्त चुनौती, जीवन्त वर्णन

ध्रुवहरि अधिकारी ६ असार २०८३ १०:१७ | Saturday, June 20, 2026
20
SHARES
ज्वलन्त चुनौती, जीवन्त वर्णन

जीवनका घाउहरूलाई शब्दमा रूपान्तरण गर्नु सहज कार्य होइन।

कृतिकारको शिल्पले मलाई तत्कालीन लामीडाँडा पुर्‍यायो।

पहिलो उद्‌गार हो गङ्‌गा लामिटारेको जसलाई साहित्य परिषद् भूटानको अध्यक्षको रूपमा चिन्न सकिन्छ भने ‘युग यात्रा’ बारेको दोस्रो मन्तव्य हो प्रकाश आङ्दम्बेको। यी दुबै अभिव्यक्तिले पुस्तक गैर-आख्यान भएको जनाउ दिन्छन्।

तर लेखक पदम काफ्लेले चाहिँ आफ्नो कृतिलाई ‘उपन्यास’ भनेर आख्यानको आवरणमा राख्न रुचाएका छन्। साहित्यमा रुचि हुने पाठकले उपन्यासलाई विस्तारित अर्थात् लामो कथाको रूपमा ग्रहण गर्दछन्। त्यसैले ‘युग यात्रा’ पनि कथा हो तर सत्य घटनामा आधारित।

घटना हो सन् १९९० को आरम्भमा भूटानका निरंकुश शासक(राजा)ले आफ्नै प्रजालाई पराईको बिल्ला लगाई देशबाट खेद्‌ने अभियान सञ्चालन गर्दाको। खेद्‌नको लागि छानिएका मानिसहरूको अर्घेलो बन्यो तिनले बोल्ने भाषा (नेपाली) अनि तिनले अँगालेको वैदिक सनातनी (हिन्दू) संस्कार र संस्कृति। तिनको प्रचलित पहिरन पनि भूटानका शासकवर्गको लागि एकाएक आँखाको कसिङ्‌गर बन्न पुग्यो। नेपालीभाषीहरू रातारात गैरकानूनी आप्रवासी ठहरिए। ‘ल्होछम्पा’ कहलिए। खासमा सयकडौं वर्षदेखि-आङ्दम्बेले लेखेझैँ-नेपालीभाषीहरू ‘आफ्नै खुन पसिना बगाएर खोरिया जङ्‌गल फाँडेर घर,आँगन,खेत,पाटी,पौवा र बाटो बनाउनेहरू हुन्। विकट भूटानलाई सिंगार्नेहरू हुन्।’ इतिहास केलाउनेहरू भन्छन्-रामशाहको राज्यकालकै बेलामा गोर्खा (नेपाली) भूटान जान थालेका हुन् र त्यो पनि त्यहीँका शासकहरूले जनशक्तिको माग गरेमुताविक। तर इतिहासले सुम्पेको उत्तरदायित्वप्रति आँखा चिम्लेर अचेलका मूढाग्रही शासकहरूले निर्दोष महिला र केटाकेटी समेतलाई बिचल्ली गराउँदै अमानवीय ढङ्‌गले एक लाख १० हजारभन्दा बढी बासिन्दालाई देशनिकाला गर्न सफल भए। अनि, भूटानको सिमानाबाट भारतीय भूमिमा प्रवेश गर्न बाध्य पारिएका नरनारीलाई स्थानीय प्रहरी, कर्मचारीहरूको साँठगाँठमा ट्रकमा कोच्दै नेपालको पूर्वी सिमाना काकडभिट्ठा पुर्‍याउने गरेका घटना प्रत्यक्षदर्शीको दृश्यपटलबाट ओझेल भएका छैनन्।

शिविरका बासिन्दा

नेपाल पसेपछि ‘भूटानी शरणार्थी ’ भएर यताको सरकारले उपलब्ध गराएका जग्गामा बनेका शिविरका झुप्रा-बस्तीमा पस्दा-बस्दाका दुःख, पीडा र वेदनाको वर्णन छ ‘युग यात्रा’ मा। झण्डै तीन सय पृष्ठको यो पुस्तक पढिसक्दा पाठक भावविह्वल हुनुअपरिहार्य छ। भुक्तभोगीले नै लेखेको कथानकका धेरैजसो पात्रहरूको अवस्था ताप्केबाट उफ्रेको वस्तु भुङ्ग्रोमा परेजस्तो भएको देखिन्छ। यसबाट सहृदयी पाठकमा गहिरो छाप पर्नु अनौठो भएन। कालान्तरमा शरणार्थीहरूको राष्ट्रसंघीय उच्चायोग (यू एन् एच् सी आर) को पहलबाट पुनर्वासको लागि युरोप,अमेरिका,अष्ट्रेलियातिर लगिएपछि अधिकांश नेपालीभाषी भूटानीहरूले पुनर्जन्म पाएजस्तो भएको हो। एकथरी शिविरवासी स्वदेश फर्किने आशामा अझै उतै अड्केका छन् यद्यपि भूटानका शासकहरू लचिलो भएको सङ्‌केत वर्षौ बित्दा पनि देखिएको छैन।

नेपालमा २०४६ सालको जन-आन्दोलनपछि निर्वाचित सरकारका प्रधानमन्त्री गिरिजाप्रसादको अदूरदर्शी सोच र फितलो कूटनीति भूटानका शासकलाई उत्तेजित तुल्याउने कारक हुन गए। पछि शरणार्थीलाई स्वदेश फिर्ता गर्ने हेतुले चरण-चरणमा द्विपक्षीय वार्ताहरू पनि भए तर फलदायी नतीजा निस्कन सकेन। सन् १९४९ को भारत-भूटान सन्धि अनुसार भूटानको विदेशनीति दिल्लीको निर्देशनमा चल्ने कुरा स्पष्ट हुँदा हुँदै पनि नेपालका कुनै पनि सरकारले शरणार्थी मामिला यथोचित् महत्वका साथ भारतको सरकारसँग उठाउन सकेनन्। यता दिल्ली भने सदैव थिम्फूको पक्षमा रह्यो।

शरणार्थीहरूको घुँइचो लाग्ने क्रम शुरू हुँदाकै बखत समाचार सङ्‌कलनको क्रममा मैले मोरङको पथरी र झापाको बेलडाँगीमा पुगेर स्वदेश छोड्दाका कथा-व्यथा लिएर आउनेहरूसँग कुराकानी गरेको थिएँ। त्यसताका अन्तर्राष्ट्रिय समाचार संस्था ‘रोइटर्स’ को संवाददाता भएर मैले लेखेका समाचार-सामग्री राष्ट्रसंघको मुख्यालयमा मात्र होइन लण्डन, वाशिङ्‍टन, पेरिस, मास्कोलगायतका राजधानी शहरहरूमा पुगेका थिए। त्यसताका मैले बीबीसी र टाइम पत्रिकालाई पनि शरणार्थी समस्याबारेका जानकारीमूलक सामग्री उपलब्ध गराएको थिएँ। पछि थपिएका शिविरहरूमा पनि पुगें-पटक पटक। अहिले लाग्छ, त्यसरी म समेतका पत्रकारहरूबाट प्रवाहित ताजा सूचना र जानकारीका आधारमा राष्ट्रसंघीय शरणार्थी आयोगलाई उद्धार कार्यको लागि स्रोत-साधन र जनशक्ति जुटाउन अवश्य सघाउ पुर्‍यायो होला। सङ्‌कटको बेलामा मिडियाको भूमिका खोज्नेहरूले यसलाई दृष्टान्तको रूपमा लिन सक्छन्।

कारुणिक गाथा

‘युग यात्रा ’ उपन्यासको ढाँचामा लेखिएको पहिलो पुस्तक हो मैले पढेको। तर नेपालीभाषी भूटानीका कारुणिक विवरण यसअघि पनि छापिएका छन्। भूटानलाई क्रमशः लोकतन्त्रतर्फ लैजान पहल गर्ने साहसी नेता टेकनाथ रिजालले सामना गरेको यन्त्रणाको वर्णन ‘निर्वासन’ नामक संस्मरणमा पाइन्छ। ओम ढुङ्‌गेलको अँग्रेजी कृति ‘भूटान टू ब्ल्याकटाउन’ ले अँग्रेजी पढ्ने (अन्तर्राष्ट्रिय) पाठकहरूलाई भूटानको सजीव चित्र प्रदान गरेको छ।

देवीभक्त लामिटारे लिखित ‘दन्किँदो भूटान’ यसै सन्दर्भको अर्को प्रकाशन हो। यस हरफको लेखकको जानकारीमा नआएका अरू पुस्तक पनि होलान्। पदम काफ्लेको पुस्तक उपन्यास मात्र होइन निबन्ध-यात्रा अर्थात् नियात्रा पनि हो। यसको थालनी भूटानबाट हुन्छ जहाँको दक्षिणी भेगमा बसोबास गर्ने ग्रामीण नेपालीभाषीहरूको रहन-सहन र दिनचर्चा देख्‌न सकिन्छ । दोस्रो चरण नेपाल प्रवेश गरेर शिविरमा कुटुरो बिसाएपछि शुरू हुन्छ। तेस्रो पाइलो उपन्यासका नायक मुक्तिको पढाइको सिलसिलामा पाठकले पनि काशी (भारत) जान पाउँछन्। त्यहाँको शहरी जीवनसित परिचित हुन्छन्। पढाइ सकेर नेपाल फिरेका मुक्ति पुनर्वासको लागि जुरेको गन्तव्य-देश अष्ट्रेलिया जाँदा पाठकले पनि त्यताको यात्रा गर्न पाएका हुन्छन्। यात्राको एक अनवरत क्रम। यही हो युग-यात्रा।

सत्य घटनामा आधारित पुस्तकमा कताकति तथ्यहरू नमिलेको देखिन्छ। पृष्ठ २३२ मा शरणार्थीलाई स्वदेश फर्काउनेबारे पन्ध्रौं चरणको ‘त्रिपक्षीय’ वार्ता विफल भएको प्रसङ्‌ग परेको छ। तर यथार्थ के हो भने यी वार्ताहरू सधैं नेपाल र भूटान दुई पक्षबीच मात्र भएका हुन्। दिल्ली त प्रारम्भदेखि नै पन्छियो। यसैगरी,पुस्तकको भाषा भूटान सरहदमा छउञ्जेल मीठो र मौलिक छ भने बाहिर आएपछि त्यसमा नौलोपन र अँग्रेजीको छाप बढ्दै गएको अनुभव हुन्छ। जस्तो, चिट्ठीको ‘जवाफ’ भने हुने ठाउँमा ‘रिप्लाई’ (पृ २०७) को प्रयोग भएको छ। अर्को, जनसभाहरूको सन्दर्भमा दर्शक/श्रोताहरूबाट समर्थनमा बज्ने ताली ‘चियरिङ्’ हो तर यहाँ ‘हूटिङ्’ हुन पुगेको छ (पृ ९८)। यहाँ पनि लेखकले मौलिकता जोगाउने प्रयत्न गरेको भए हुने थियो।

समग्रमा, युग-यात्रा नेपाली साहित्यको भण्डारलाई प्राप्त एउटा मूल्यवान् रत्न हो। कविशिरोमणि लेखनाथ पौड्यालले भन्नुभए जस्तै-

‘दबिन्छ गुणीको दोष गुणका राशिमा परी,
रश्मीले चन्द्रको दाग दबाएकै छ बेसरी।

प्रकाशित: ६ असार २०८३ १०:१७ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast