ट्रम्पपछि किन चीन भ्रमणमा जाँदै छन् पुटिन?

हिमाल प्रेस २ जेठ २०८३ १६:३१ | Saturday, May 16, 2026
10
SHARES
ट्रम्पपछि किन चीन भ्रमणमा जाँदै छन् पुटिन? भ्लादिमिर पुटिन र सी चिनफिङ। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- रूसका राष्ट्रपति भ्लादिमिर पुटिन १९ र २० मेमा चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। उनी चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा बेइजिङ जान लागेका हुन्। पुटिनको यो भ्रमण दुई देशबीचको सद्भाव, मित्रता र पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको २५औँ वार्षिकोत्सवको अवसरमा हुन लागेको बीबीसीले जनाएको छ।

रूसी प्रधानमन्त्री कार्यालय क्रेमलिनले भ्रमणका क्रममा पुटिनले चिनियाँ समकक्षी सी चिनफिङसँग रूस–चीनबीचको व्यापक साझेदारी र रणनीतिक सहयोगबारे छलफल गर्ने जनाएको छ। क्रेमलिनका अनुसार दुवै देशका नेताहरूले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा पनि विचार आदानप्रदान गर्नेछन् र वार्ताको अन्त्यमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेछन्।

भ्रमणका क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग आर्थिक तथा व्यापारिक सहकार्यबारे पनि छलफल गर्ने कार्यक्रम छ।

पुटिनको यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणपछि हुन लागेको हो। उक्त भ्रमणमा उच्चस्तरीय स्वागत भए पनि युक्रेन–रूस युद्ध र व्यापार विवाद लगायतका विषयमा ठोस सहमति भने हुन सकेन। यद्यपि ट्रम्प र सीले युक्रेन युद्ध तथा इरानसँग सम्बन्धित तनावबारे छलफल गरेका थिए। तर कुनै निर्णायक प्रगति भएको छैन।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पलाई सीसँगको भेटमा युद्ध रोक्ने विषय उठाउन आग्रह गरेका थिए। तर मस्कोले युक्रेनले क्रेमलिनका कडा माग स्वीकार नगरेसम्म युद्धविराम वा व्यापक वार्ता अस्वीकार गर्दै आएको छ।

चीनले युक्रेन युद्ध अन्त्यका लागि वार्ताको आह्वान गर्दै आए पनि रूसको आक्रमणको औपचारिक निन्दा गरेको छैन र आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्दै आएको छ। पश्चिमी प्रतिबन्धपछि चीन रूसको सबैभन्दा ठूलो ऊर्जा खरिदकर्ता बनेको छ, जसले मस्कोको प्रमुख आर्थिक साझेदारको भूमिका लिएको छ।

ट्रम्पले चीन भ्रमणपछि उत्कृष्ट व्यापार सम्झौता भएको दाबी गर्दै २०० बोइङ विमान खरिदलगायत सहमति भएको बताएका छन्। तर चीनले भने कुनै औपचारिक सम्झौता सार्वजनिक गरेको छैन। रूसका विदेशमन्त्री सर्गेई लाभरोभले चीन–अमेरिका शिखर सम्मेलनलाई स्वागत गर्दै मस्को–बेइजिङ सम्बन्ध अझ गहिरो र रणनीतिक रहेको बताएका छन्।

प्रकाशित: २ जेठ २०८३ १६:३१ | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast