काठमाडौँ- गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले तीन प्रदेशका गाउँको पर्यटन प्रवर्द्धनमा जुटेको छ। भिटोफ नेपालले भर्खरै मधेस प्रदेशको पर्सास्थित सुवर्णपुर, बागमती प्रदेशको चितवनस्थित माडी र गण्डकी प्रदेशको तनहुँस्थित बन्दीपुर गाउँको पर्यटन प्रवर्द्धन गरेको हो।
भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियाले नेपालका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासका लागि भिटोफले पर्यटकीय सम्भावना भएका गाउँको पर्यटन प्रवर्द्धनको काम थालेको बताए।
भिटोफले पर्साको ठोरी गाउँपालिकाको सुवर्णपुरस्थित ‘सुवर्णपुर सुनाखरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास)’, चितवनको माडीमा घरबास र तनहुँको बन्दीपुरस्थित होमस्टेको अध्ययन र पर्यटन विकासको चुनौतीबारे छलफल गरेको थियो।
गाउँ पर्यटनको विकासको क्षेत्रमा विंस २०५३ देखि काम गर्दै आएको भिटोफ नेपालले हाल देशभरका सातै प्रदेशका करिब ५० वटा गाउँको ग्रामीण पर्यटन प्रवर्द्धन गरिसकेको छ । गाउँमा उत्पादित रैथाने खानाको प्रवर्द्धन, परम्परागत संस्कृतिको जर्गेना र स्थानीय स्तरको रहनसहन भेषभुसाले पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा भिटोफले गरेको छ। अध्यक्ष थपलियाले यस्ता भ्रमणले ग्रामीण पर्यटनको नयाँ गन्तव्य पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।



