काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहबाट देशको संविधान र प्रतिनिधिसभा नियमावली मिचिएको बताएका छन्।
प्रधानमन्त्री शाह आइतबार संसद बैठक सुरु हुनेबित्तिकै सांसदहरूको उत्तर दिन रोष्ट्रम पुगेका थिए। सांसदहरूको प्रश्न नै नलिई उत्तर दिन गएको भन्दै सांसद दुलालले उठेर आपत्ति जनाएका हुन्।
प्रमुख सचेतक दुलालले भने,‘म आज फेरि एकपटक यो देशको संविधान र नियमावली मिचिएको कुरा दुःखद् कुरा स्मरण गराउन चाहन्छु। प्रधानमन्त्रीबाट यो हुनु राष्ट्रका लागि धेरै नै दुःखद हो। हाम्रो प्रतिनिधि सभा नियमावलीको २०७९ मा ५६ (१) मा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था छ। जसअनुसार समूह विभाजन गरिन्छ। १५-१५ जनाको। त्यो समूहले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने लिखितरूपमा नै प्रश्न दिने र सम्माननीय प्रधानमन्त्रीले एक घण्टा प्रश्नोत्तर गर्ने प्रावधान भएकोले यो नियमावलीको नियम मिचिएको म दुःखका साथ दर्ज गर्न चाहन्छु।’




