थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त, आज शपथ

हिमाल प्रेस २७ वैशाख २०८३ ७:१६ | Sunday, May 10, 2026
16
SHARES
थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त, आज शपथ

तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्। उनी नेतृत्वको तमिलगा वेत्री कजगम (टिभिके)ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ ग्रहण आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियम मा हुने तय भएको छ। उनले १३ मेभित्र विधानसभामा विश्वासको मत लिनुपर्नेछ।

सरकार गठनका लागि आवश्यक बहुमत जुटाएपछि विजय समर्थन पत्रसहित राज्यपाललाई भेट्न लोक भवन पुगेका थिए। उनले विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) को समर्थन पत्र बुझाउँदै सरकार गठनको दाबी पेश गरेका थिए।

यसअघि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भीसीके र आईयूएमएलले टिभीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए। भीसीके नेता थोल तिरुमावलवन ले टिभीके नेता आधव अर्जुनलाई समर्थन पत्र हस्तान्तरण गरेका थिए। टिभीके नेता आधव अर्जुनले कांग्रेस, वामपन्थी दल र भीसीकेलाई धन्यवाद दिँदै लोकतन्त्रको रक्षा गरिने र जनताको समर्थनमा विजय मुख्यमन्त्री बन्ने बताएका छन्।

२३४ सदस्यीय तमिलनाडु विधानसभा निर्वाचनमा टिभीकेले १०८ सिट जितेको थियो। विजय स्वयं दुई सिटबाट निर्वाचित भएकाले एक सिट छाड्नुपर्नेछ। त्यसपछि टिभीकेको संख्या १०७ मा झर्नेछ र सदनको प्रभावकारी संख्या २३३ हुनेछ। बहुमतका लागि ११७ सांसद आवश्यक पर्नेछ।

कांग्रेससँग ५ सिट छ भने सीपीआई, सीपीएम, भीसीके र आईयूएमएलसँग दुई–दुई सिट छन्। यी दलको समर्थनपछि टिभीके पक्षमा १२१ सिट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा बढी हो। यसबीच शनिबार राजनीतिक विवाद पनि देखिएको छ। एएमएमके महासचिव टीटीभी दिनाकरन ले राज्यपाललाई भेटेर टिभीकेविरुद्ध उजुरी दिएका छन्। एएमएमकेले आफ्ना एकमात्र विधायकलाई फकाउने प्रयास भएको आरोप लगाएको छ।

दिनाकरनले सार्वजनिक भएको एउटा भिडियो नक्कली भएको दाबी गर्दै यसको पछाडि विजयको हात रहेको आरोप लगाएका छन्। उनले आवश्यक परे कानुनी परामर्श लिएर औपचारिक उजुरी दर्ता गर्ने चेतावनीसमेत दिएका छन्।

प्रकाशित: २७ वैशाख २०८३ ७:१६ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast