काठमाडौँ- नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यको आगामी मुख्यमन्त्री शुभेन्दु अधिकारी बन्ने भएका छन्। उनले पश्चिम बंगालको भवानीपुरबाट ममता बनर्जीलाई पराजित गरेका थिए। उनी राज्यमा भाजपाका पहिलो मुख्यमन्त्री हुनेछन्। पार्टी पर्यवेक्षकका रूपमा कोलकाता पुगेका केन्द्रीय गृहमन्त्री अमित शाहले उनको नाम घोषणा गरेका हुन्। उनले भने, ‘म शुभेन्दु अधिकारीलाई पश्चिम बंगाल विधानमण्डल दलको नेताको रूपमा निर्वाचित घोषणा गर्दछु।’
शाहले शुभेन्दुको पक्षमा आठवटा प्रस्ताव र समर्थन प्राप्त भएको तथा उनीबाहेक अरू कुनै नाम अगाडि नआएको बताए। सोमबारको मतगणनामा भाजपाले राज्यका २९४ विधानसभा सिटमध्ये २०७ सिट जितेर बनर्जीको अखिल भारतीय तृणमूल कांग्रेसको १५ वर्षको शासन समाप्त गरिदिएको थियो। यस राज्यमा पहिलोपटक हिन्दू राष्ट्रवादी पार्टीलाई सत्तामा पु¥याइएको हो।
शुभेन्दु अधिकारीले शनिबार, मे ९ मा कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा मुख्यमन्त्री पदको शपथ लिनेछन्। ममता बनर्जीका सहयोगी रहिसकेका शुभेन्दु अधिकारीले डिसेम्बर २०२० मा टीएमसी छोडेका थिए। अर्को वर्ष नन्दीग्राम सिटमा ममता बनर्जीलाई हराएका थिए।
पश्चिम बंगालको आगामी मुख्यमन्त्रीका रूपमा शुभेन्दु अधिकारीको नाम घोषणा गरेपछि भाजपा नेता तथा केन्द्रीय गृहमन्त्री अमित शाहले कांग्रेस पार्टीमाथि निशाना साधेका छन्। उनले कांग्रेसलाई चुनावको प्रक्रियामा हिलो छ्याप्नुको सट्टा आफ्नो हारका लागि आत्मचिन्तन गर्न आवश्यक रहेको बताए।
उनले अगाडि भने, ‘धेरै वर्षदेखि कांग्रेस धेरै ठाउँमा चुनाव जितिरहेको छैन। अहिले उनीहरूलाई थाहा भइसकेको छ कि चुनाव जित्न असम्भव छ, त्यसैले चुनावको प्रक्रियालाई नै बदनाम गरिदेऊ। त्यसैले कांग्रेसका प्रमुख नेता राहुल गान्धीजीले कहिले ईभीएम, कहिले मतदाता नामावली त कहिले एसआईआरमा हिलो छ्याप्ने प्रयास गरे।’
उनले कांग्रेसलाई प्रश्न गरे, ‘हामी त २०१४ देखि शासनमा आएका हौँ। तर, तमिलनाडुमा १९६७ देखि तपाईंको मुख्यमन्त्री बन्न सकेको छैन, के त्यो भोट चोरी थियो रु पश्चिम बंगालमा ४९ वर्षदेखि तपाईंको मुख्यमन्त्री बनेको छैन, के त्यो भोट चोरी थियो रु’



