काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको खाका मागेका छन् । प्रधानमन्त्री शाहले असली क्रान्ती ‘ज्ञ’बाट सुरू हुने अभिव्यक्ति दिएपछि पोखरेलले फेसवुकमा लेखेका छन्, ‘विस्थापित सुकुम्वासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू ।’
सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर हजारौंलाई घरवारविहीन बनाएको आरोप लगाउँदै उनले बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने उल्लेख गरेका छन् ।
२०७५ सालमा वारा–पर्सामा आएको भीषण आँधीले २८ भन्दा बढी नागरिकको ज्यान लिएको, ११५० भन्दा बढी घाइते भएको, झण्डै २५०० घरमा क्षति पुगेको र हजारौं मानिस घरवारविहीन बनेको भन्दै उनले । त्यतिबेलाको सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावित नागरिकलाई पुनःस्थापित गरेको स्मरण गराएका छन् । तर आज अवस्था फरक देखिएको उनको भनाइ छ । अस्थायी सेल्टरहरूको दयनीय अवस्था त्यहाँ पुग्नेहरूलाई फोटो खिच्न समेत रोक लगाइएको तथ्यले स्पष्ट पारेको पोखरेलको दाबी छ ।
प्रधानमन्त्रीलाई प्रश्न गर्दै उनले भनेका छन्,“वास्तविक क्रान्ति ज्ञ (ज्ञान)बाट सुरु हुन्छ” भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ? प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुम्बासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र? ”
मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर बन्न उनले सरकारलाई सुझाव समेत दिएका छन् ।



