रुस र युक्रेनबीच १-१ हजार युद्धबन्दी साटासाटको सहमति

हिमाल प्रेस २६ वैशाख २०८३ ९:४८ | Saturday, May 9, 2026
10
SHARES
रुस र युक्रेनबीच १-१ हजार युद्धबन्दी साटासाटको सहमति

काठमाडौँ- रुस र युक्रेन तीन दिनका लागि युद्धविराम गर्न र एक–एक हजार युद्धबन्दी साटासाट गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा अघि सारिएको यस प्रश्तावलाई दुवै पक्षले स्वीकार गरेका हुन् । रुसी राष्ट्रपतिका सल्लाहकार युरी उसाकोभले राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनअनुसार ट्रम्पको प्रश्तावलाई रुसी पक्षले स्वीकार गरेको सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत रुससँग १ हजार–१ हजारको अनुपातमा युद्धबन्दी साटासाट गर्न सहमति भएको पुष्टि गरे। उनले मे ९, १० र ११ का लागि युद्धविराम लागू हुने बताउँदै बन्दी साटासाटका लागि आवश्यक तयारी तत्काल शुरु गर्न आफ्नो टोलीलाई निर्देशन दिए।

मे ९ मा मस्कोमा आयोजना हुने विजय दिवस परेडलाई लक्षित गर्दै राष्ट्रपति जेलेन्स्कीले एक विशेष आदेशमा हस्ताक्षर गरे। मानवीय दृष्टिकोणलाई ध्यानमा राख्दै उक्त परेडको समयमा मस्कोको रेड स्क्वायर क्षेत्रलाई युक्रेनी हतियार प्रयोगको योजनाबाट बाहिर राखिएको युक्रेनी राष्ट्रपतिको वेबसाइटमा प्रकाशित दस्ताबेजमा उल्लेख छ ।

यसअघि डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत यस सहमतिको बारेमा जानकारी दिँदै दुवै देशबीच सबै प्रकारका सैन्य गतिविधि स्थगित हुने र ठूलो सङ्ख्यामा युद्धबन्दीको साटासाट हुने बताएका थिए ।

रुसी रक्षा मन्त्रालयले मे ८ को मध्यरातदेखि मे १० सम्मका लागि युद्धग्रस्त क्षेत्रमा रहेका सबै रुसी सैन्य समूहहरूले आफ्ना सैन्य कारबाहीहरू पूर्ण रूपमा बन्द गर्ने जनाएको छ ।

प्रकाशित: २६ वैशाख २०८३ ९:४८ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast