युद्ध अन्त्य हुने रुबियोको दाबी, इरान भन्छ- आणविक मुद्दामा सम्झौता भएको छैन

हिमाल प्रेस ११ जेठ २०८३ १९:३७ | Monday, May 25, 2026
10
SHARES
युद्ध अन्त्य हुने रुबियोको दाबी, इरान भन्छ- आणविक मुद्दामा सम्झौता भएको छैन अमेरिकी विदेशमन्त्री मार्को रुबियो/ तस्बिर : एएफपी

काठमाडौँ– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पश्चिम एसियामा जारी युद्ध औपचारिक रूपमा अन्त्य गर्न सक्ने इरानसँगको सम्भावित सम्झौता आइतबारपछि सार्वजनिक हुन सक्ने बताएका छन्।

भारत भ्रमणमा रहेको रुबियोले आइतबार नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उनले आगामी केही घण्टाभित्रै विश्वले सकारात्मक समाचार पाउन सक्ने सम्भावना रहेको उल्लेख गरे। आफ्नो पहिलो भारत भ्रमणमा रहेका रुबियोले उदीयमान सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ हर्मुजसम्बन्धी चिन्तालाई सम्बोधन गर्ने बताए। स्ट्रेट अफ हर्मुज इरान–अमेरिका–इजरायल तनावपछि केही हदसम्म अवरुद्ध भएको अवस्थामा छ।

उनका अनुसार प्रस्तावित सम्झौताले यस्तो प्रक्रिया सुरु गर्न सक्छ जसले अन्ततः इरानको आणविक हतियारसम्बन्धी डर हटाउने अवस्थातर्फ लैजान सक्नेछ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाटी खोल्ने विषयमा भइरहेको छलफललाई ‘धेरै हदसम्म अघि बढेको’ बताएका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका, इरान र अन्य देशहरूबीच अन्तिम सम्झौता तयार पार्ने प्रक्रिया नजिक पुगेको दाबी गरेका हुन्।

इरानसँग हुने भनिएको सम्झौताले अमेरिकाभित्रै पनि राजनीतिक बहस सिर्जना गरेको छ।

सिनेटर टेड क्रुज र पूर्वविदेशमन्त्री माइक पोम्पेओजस्ता ट्रम्पका निकट सहयोगीहरूले सम्भावित सहमतिबारे आलोचना गर्दै इरानलाई आर्थिक र रणनीतिक लाभ पुग्ने सम्भावनाप्रति आपत्ति जनाएका छन्। उनीहरू दुवै जना इजरायलका कट्टर समर्थक मानिन्छन्।

क्रुजले यस्तो सम्भावित परिणामलाई ‘विनाशकारी गल्ती’ हुन सक्ने चेतावनी दिए।

आलोचनाबारे प्रतिक्रिया दिँदै रुबियोले इरानविरुद्ध सुरु गरिएको ‘एपिक फ्युरी’ नामक अभियानको उद्देश्य स्पष्ट रहेको बताए। उनका अनुसार यस अभियानअन्तर्गत इरानको नौसेना क्षमतामा ठूलो क्षति पुर्‍याइएको छ।

उनले अमेरिकाले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार क्षमतालाई उल्लेखनीय रूपमा कमजोर बनाउने र देशको रक्षा–औद्योगिक संरचनामा क्षति पुर्‍याउने लक्ष्य राखेको पनि उल्लेख गरे।

रुबियोले अमेरिकाले कुनै पनि हालतमा इरानलाई आणविक हतियार राख्न नदिने बताए। राष्ट्रपति ट्रम्प यो विषयमा निकै स्पष्ट रहेको बताए। यद्यपि इरानको सञ्चारमाधयमले भने ‘अमेरिकासँगको सम्भावित सम्झौतामा आणविक हतियारबारे कुनै कुराकानी नभएको’ दाबी गरेको छ।

इरानको सरकारी समाचार एजेन्सी तस्मिनले अमेरिका र इरानबीचको कथित सम्झौतासँग सम्बन्धित रिपोर्ट प्रकाशन गरेको छ।

रिपोर्टमा भनिएको छ,‘यस प्रस्तावमा इरानले आफ्नो कुनै पनि आणविक सामग्री हस्तान्तरण गर्ने कुनै प्रतिबद्धता जनाएको छैन। पश्चिमा सञ्चारमाध्यमले यसको विपरित रिपोर्टहरू प्रकाशित गरेको छ।’

इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) सँग आवद्ध समाचार एजेन्सीले आणविक मुद्दामाथिको वार्तालाई ‘सम्भावित रुपमा युद्ध समाप्त भएपछि’ सम्मका लागि सारिएको बताएको छ।

रिपोर्टका अनुसार वर्तमान मस्यौदा केवल युद्ध अन्त्य गर्ने विषयमा मात्र सीमित छ र यसमा इरानको आणविक कार्यक्रमसँग कुनै पनि जानकारी समावेश गरिएको छैन।

प्रकाशित: ११ जेठ २०८३ १९:३७ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast