कञ्चनपुर- सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम जोहरा र राजेन्द्र बमको जोडीले जितेको छ।
महेन्द्रनगरस्थित कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा राम र राजेन्द्रको जोडीले भोजराज भट्ट र गणेश मिश्रको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो। विजेता जोडीले ४४ हजार ४४४ रूपैयाँसहित ट्रफी, प्रमाणापत्र प्राप्त गर्यो।
उपविजेता बनेको भोजराज र गणेशको जोडीले २२ हजार २२२ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। प्रतियोगितामा तेस्रो भएको कमलसिंह भाट र विवेक ऐरको जोडी तथा जीवन खड्का र अमित शाहको जोडीलाई ११ हजार १११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरियो।
त्यसैगरी प्रतियोगितामा भेट्रानतर्फ भोजराज भट्ट र वीरेन्द्रसिंह विष्टको जोडीले उपाधि जित्यो। आज भएको फाइनल खेलमा सुरेन्द्र कार्की र शैलेन्द्र श्रेष्ठको जोडीलाई पराजित गर्दै भट्ट र विष्टको जोडीले १५ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो।
उपविजेता बनेको कार्की र श्रेष्ठको जोडीलाई ७ हजार ५५५, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ। प्रतियोगितामा तेस्रो हुने प्रेम चन्द र पदम ठकुराठी तथा सुरेन्द्रप्रसाद भट्ट र ईश्वरीदत्त भट्टको जोडीलाई ५ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरियो।
प्रतियोगिताको समापन समारोहमा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दीपक बोहराले विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार वितरण गरे। पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगितामा ‘बी’ लेभलतर्फ ४८ तथा भेट्रानतर्फ ३२ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक शेरबहादुर सिंहले जानकारी दिए। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवर्द्धन गर्न बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो।



