कास्की कारागारमा चरम बेथिति र भ्रष्टाचार आरोप, प्रजिअलाई ज्ञापनपत्र

हिमाल प्रेस २४ वैशाख २०८३ १३:३३ | Thursday, May 7, 2026
22
SHARES
कास्की कारागारमा चरम बेथिति र भ्रष्टाचार आरोप, प्रजिअलाई ज्ञापनपत्र

काठमाडौँ- कास्की कारागारभित्र बेथिति, भ्रष्टाचार र कैदीबन्दीमाथि अमानवीय व्यवहार भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ।

साइबर अपराधसम्बन्धी मुद्दामा १० महिना कारागार जीवन बिताएर हालै रिहा भएका रेशमराज पौडेलले जिल्ला प्रशासन कार्यालय कास्कीमा १० बुँदे ज्ञापनपत्र बुझाउँदै कारागारभित्रको अवस्था सुधारगृहको सट्टा कमाइ खाने थलो बनेको दाबी गरेका छन्। ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई बुझाइएको हो।

पौडेलका अनुसार कारागारभित्र पहुँचका आधारमा विभेद हुने, आर्थिक असुली हुने, उपचार अभाव रहने तथा भेटघाट र अतिरिक्त सुविधामा समेत पैसाको प्रभाव देखिने गरेको छ। उनले गरिब र पहुँच नभएका कैदीबन्दीले चरम दुःख भोग्नुपरेको भन्दै यस्तो अवस्थाले कारागार सुधारगृहको उद्देश्य नै कमजोर बनाएको बताएका छन्। उनका अनुसार सरकारी सेवा समेत कमिशनका आधारमा उपलब्ध गराइने अवस्था रहेको छ।

ज्ञापनपत्रमा कास्की कारागारका जेलरमाथि पनि प्रश्न उठाइएको छ। निर्धारित समय सकिएपछि पनि एउटै जेलर लामो समयसम्म पदमा रहन खोज्नु शंकास्पद भएको भन्दै छानबिनको माग गरिएको छ। एक कैदीमाथि भएको भनिएको कुटपिट घटनाको निष्पक्ष अनुसन्धान गर्न पनि माग गरिएको छ।

पौडेलले आफ्ना माग एक साताभित्र सम्बोधन नभए अनशन बस्ने चेतावनी दिएका छन्। उनले कारागारभित्रको आर्थिक अनियमितता र दुरुपयोगको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।

यसैबीच, देशका अन्य कारागारहरूमा पनि बेथिति र भ्रष्टाचारका आरोपहरू सार्वजनिक भइरहेका छन्। केही समयअघि नेपाल विद्यार्थी संघले समेत कारागार विभागमा ज्ञापनपत्र बुझाउँदै देशभरका जेलमा आर्थिक अनियमितता र विभेद मौलाएको आरोप लगाएको थियो। विभागले यसबारे छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

त्यस्तै, केन्द्रीय कारागारमा पनि आर्थिक अनियमितता, पदको दुरुपयोग र चौकीदार नियुक्तिमा अनियमितता भएको आरोप उठेको छ। प्रतिव्यक्ति ठूलो रकम असुली गरी नाइके-सहनाइके बनाइनेजस्ता गम्भीर दाबीहरूसमेत सार्वजनिक भएका छन्।

प्रकाशित: २४ वैशाख २०८३ १३:३३ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast