विज्ञान प्रविधि मन्त्रालय खारेज गर्न खोजिएको भन्दै रिसाए महावीर पुन

हिमाल प्रेस २१ वैशाख २०८३ १२:१२ | Monday, May 4, 2026
16
SHARES
विज्ञान प्रविधि मन्त्रालय खारेज गर्न खोजिएको भन्दै रिसाए महावीर पुन शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले वर्तमान सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई उपेक्षा गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

पूर्व शिक्षामन्त्रीसमेत रहेका पुनले विज्ञान तथा प्रविधि मन्त्रालयको अस्तित्व नै समाप्त पार्ने र नवप्रवर्तनलाई उद्योग मन्त्रालयअन्तर्गत सीमित गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

सोमबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारको कार्यशैलीको विरोध गरे। ‘सामाजिक सञ्जाल हेर्दा अहिलेको सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनमा गम्भीरता देखाउने संकेत देखिँदैन,’ उनले लेखेका छन्,‘बरु नवप्रवर्तनलाई उद्योग मन्त्रालयमा सीमित गर्ने र विज्ञान तथा प्रविधि मन्त्रालय नै कमजोर बनाउने प्रयास भइरहेको जस्तो लाग्छ।’

पुनका अनुसार नवप्रवर्तन कुनै एक मन्त्रालय वा क्षेत्रभित्र सीमित हुँदैन। उनले नवप्रवर्तन राजनीति, प्रशासन, सुशासन, स्वास्थ्य, कृषि, शिक्षा, व्यापारदेखि विज्ञान प्रविधि, जीवन विज्ञान, कला र साहित्यसम्म सबै क्षेत्रमा फैलिएको हुने बताएका छन्।

विज्ञान र अनुसन्धानलाई प्राथमिकता नदिएको तथा मन्त्रालय गाभ्ने तयारी भइरहेको भन्दै उनले सरकारलाई सचेत गराएका छन्। ‘मेरो टाउको फोड्नु नपरोस् है सरकारका साथीहरू,’ पुनले भने।

पुनले लामो समयदेखि अनुसन्धान तथा नवप्रवर्तनका लागि कुल गार्हस्थ्य उत्पादन (जीडिपी) को कम्तीमा १ प्रतिशत बजेट छुट्याउनुपर्ने माग गर्दै आएका छन्।

प्रकाशित: २१ वैशाख २०८३ १२:१२ | Monday, May 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast