काठमाडौँ- नेपाल काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को पहिलो खेलमै पराजित भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको हो।
प्रतिस्पर्धात्मक खेलमा नेपालले भारतलाई निकै दबाबमा राखेपनि अन्तिम सेटमा नेपालले लय गुमाउँदा भारतलाई जित्ने सुनौलो अवसर नेपालको हातबाट फुस्कियो।
पहिलो सेटमै लगातार अंक गुमाएको नेपालले कम ब्याक गर्दै २५–२१ ले सो सेट जित्यो। पहिलो सेट जितेर १–० को अग्रता बनाएको नेपालले त्यसपछिका लगातार दुबै सेट गुमाउन पुग्यो। भारतले दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१९ ले जित्दै नेपाल सामू दरिलो रुपमा प्रस्तुत भयो। तर चौथो सेट फेरी आफ्नो कब्जामा लिँदै नेपालले नतिजाको छिनोफानो गर्ने मौका ५ औँ सेट सम्म पु¥यायो।
निकै प्रतिस्पर्धात्मक बनेको चौथो सेट निरूता ठगुन्नाको कप्तानीमा रहेको नेपालले २५–२१ ले जितेसँगै खेल २–२ को बराबरीमा पुग्यो। पाँचौं सेटमा गएर फेरी भारत नै हाबी हुन पुग्यो। जहाँ १५– ९ ले सजिलै नेपाललाई हराउँदै प्रतियोगितामा भारतले विजयी सुरुवात गरेको हो।
नेपालले शनिबार साँझ किर्गिस्तानसँग खेल्नेछ। यसअघि शुक्रबार भएको पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी इरानले बङ्गलादेशलाई सजिलैसँग हरायो। इरानले २५–६, २५–९ र २५–१० ले सजिलै बंगलादेशलाई पाखा लगाएको हो।




