गोसाइँकुण्डमा गंगादशहरा मेला सुरु, ५ हजार भक्तजन आउने अनुमान

हिमाल प्रेस ७ जेठ २०८३ ८:४८ | Thursday, May 21, 2026
8
SHARES
गोसाइँकुण्डमा गंगादशहरा मेला सुरु, ५ हजार भक्तजन आउने अनुमान

रसुवा- हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गंगादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने गोसाइँकुण्डमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजन आउन थालेका छन् ।

जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म चल्नेछ । चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् । यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ ।

पुराणमा उल्लेख भएअनुसार देवता र दानवबीच समुद्र मन्थन हुँदा निस्किएको कालकूट विषले सृष्टि विनाश हुन लाग्दा भगवान् शिवले उक्त विष आफ्नो कण्ठ (घाँटी) मा धारण गरे । विषको डाह शान्त पार्न शीतल स्थानको खोजी गर्दै हिमालय क्षेत्र आइपुगेका शिवले त्रिशूलले प्रहार गर्दा निस्किएको जलबाट गोसाइँकुण्ड बनेको जनविश्वास छ ।

धार्मिक मान्यताअनुसार गङ्गादशहरामा यहाँ स्नान गर्दा १० प्रकारका पाप नाश हुन्छन् भने जनैपूर्णिमामा स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुन्छन् । समुद्री सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा रहेको यो तीर्थस्थल पुग्न कठीन भए पनि कुण्डमा स्नान गरेपछि सम्पूर्ण थकान मेटिने यात्रुहरूको अनुभव छ ।

यात्रा मार्ग र व्यवस्थापन
काठमाडौँको बालाजुबाट सुरु हुने यात्रा शिवपुरी, छहरे, ढुङ्गे, बेत्रावती र कालिकास्थान हुँदै धुञ्चे पुग्छ । धुञ्चेबाट शिवमन्दिर, त्रिशूली नदी किनार, चन्दनबारी ९सिङ्गगोम्पा०, चोलाङपाटी, लौरीविनायक र गणेश गौंडा हुँदै तेर्सो ककरो भिर पार गरेपछि गोसाइँकुण्ड पुगिन्छ ।

यात्रुको चापलाई ध्यानमा राख्दै होटल व्यवसायीहरूले खाद्यान्न ढुवानी र बस्ने व्यवस्था मिलाएका छन् । जेठ ९ देखि १२ गतेसम्म कुण्ड क्षेत्रमा विशेष पूजाका लागि पुजारीको व्यवस्था गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । यात्राका क्रममा आइपर्ने समस्या समाधान र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ छन् ।

लौरीविनायकभन्दा माथि लेक लाग्ने ९अल्टिच्युड सिकनेस० सम्भावना हुने भएकाले स्वास्थ्यकर्मीले सावधानी अपनाउन आग्रह गरेका छन् । धुञ्चेमा एक रात बसेर वातावरणसँग अभ्यस्त हुन र यात्रा गर्दा अदुवा, कागती, लसुन तथा बिरेनुन साथमा राख्न सुझाइएको छ । पैदल यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि काठमाडौँबाट हेलिकोप्टर सेवा पनि उपलब्ध छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले यात्राका क्रममा वन्यजन्तुलाई नतर्साउन, वनस्पति नकाट्न र फोहर तोकिएको स्थानमा मात्र फाल्न अनुरोध गरे । ‘हिमालयको संरक्षण नै भगवान् शिवप्रतिको सच्चा श्रद्धा हो,’ उनले भने ।

प्रकाशित: ७ जेठ २०८३ ८:४८ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast