काठमाडौँ- २५७०औँ बुद्ध जयन्तीका अवसरमा आज स्वयम्भू र बौद्धसहित काठमाडौँ उपत्यकाका बौद्ध गुम्बामा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।
यस अवसरमा बौद्ध क्षेत्रहरूमा विशेष पूजाआराधना, प्रवचन, दीप प्रज्वलन र सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्।
स्वयम्भूस्थित आनन्द कुटी विहारमा भगवान् बुद्धसँग सम्बन्धित अस्तु धातु दर्शनका लागि सार्वजनिक रूपमा राखिएकाले त्यहाँ दर्शनार्थीको लामो लाम लागेको छ।
साथै बौद्ध गुम्बाहरूमा भिक्षु तथा भिक्षुणीद्वारा शान्तिपाठ, ध्यान साधना तथा परिक्रमा कार्यक्रम सञ्चालन गरिएको छ। यसैगरी, बौद्धनाथ क्षेत्रमा भक्तजनले दीप प्रज्वलन गर्दै शान्ति र समृद्धिको कामना गरेका छन्।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको स्मरणमा पूजा, आराधना तथा धार्मिक प्रवचन गरी मनाइन्छ।
अहिंसा, करुणा र मध्यम मार्गको सन्देश दिनुभएका बुद्धको शिक्षाले विश्व शान्ति स्थापना तथा मानवतावादी मूल्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको मानिन्छ।
आजभन्दा २५७० वर्षअघि पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।



