एमआरपी समस्या समाधान भएपछि सामान्य बन्दै भैरहवा भन्सार

हिमाल प्रेस २६ वैशाख २०८३ ८:०३ | Saturday, May 9, 2026
8
SHARES
एमआरपी समस्या समाधान भएपछि सामान्य बन्दै भैरहवा भन्सार

भैरहवा- अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित विदेशी वस्तुको भन्सार प्रक्रिया सहज गराउन भन्सार विभागले पुनः सुरु गरेको छ ।

भैरहवा नाकामा केही दिनदेखि प्रभावित भएको आयात प्रणाली अहिले क्रमशः सहज बन्दै गएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भन्सार बिन्दुमै अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्थाका कारण रोकिएको आयात प्रक्रिया विभागको नयाँ निर्णयपछि पुनः सञ्चालनमा ल्याएको हो ।

भन्सार विभागले आयातकर्ताले आयातित वस्तु बजारमा बिक्री–वितरण गर्नुअघि एमआरपी, ब्राण्ड, उपभोग्य मितिलगायतका विवरणसहितको लेबल टाँस्ने लिखित स्वघोषणा गरेमा तत्कालका लागि आयात अनुमति दिन सकिने व्यवस्था गरेको छ । उक्त निर्णयपछि रोकिएका सामान छुट्ने क्रम सुरु भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले विभागबाट सहजीकरणसम्बन्धी जानकारी प्राप्त भएसँगै आयात प्रक्रिया पुनः सञ्चालनमा आएको बताउनुभयो । उहाँका अनुसार आयातकर्ताबाट भन्सार कार्यालयमै लिखित प्रतिबद्धतासहित स्वघोषणा गराई रोकिएका सामान धमाधम छुटाइँदैछ ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारीले आयातकर्ताले आफ्नो गोदाममै एमआरपीलगायतका विवरणको लेबल टाँस्न पाउनुपर्ने माग राख्दै आएको र सोही आधारमा अहिले सहजीकरण गरिएको जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको गत चैत ३० गतेको पत्रअनुसार वाणिज्य विभागले १५ दिने सूचना जारी गरेपछि वैशाख १४ गतेदेखि एमआरपी उल्लेख नभएका वस्तुको आयात भन्सारमै रोक्न थालिएको थियो । त्यसपछि भैरहवा नाकाबाट आयात प्रक्रिया प्रभावित बनेको थियो ।

आयातकर्ताले छोटो समयमा नियम लागू गरिएको, विदेशमा पहिले नै ‘अर्डर’ गरिएका सामानमा तत्काल लेबल टाँस्न नसकिने तथा कतिपय वस्तुमा भन्सार विन्दुमै एमआरपी टाँस्न व्यवहारिक कठिनाइ रहेको भन्दै आपत्ति जनाएका थिए । त्यसका कारण धेरै मालवाहक सवारीसाधन र सामान भन्सार तथा बाटोमै रोकिएको थियो । नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थनगरका अध्यक्ष मधुप्रसाद पन्थीले अधिकतम खुद्रा मूल्य ९एमआरपी०का कारण भैरहवा नाकामा ९०० भन्दा बढी मालवाहक गाडीका सामान रोकिएको जानकारी दिए ।

एमआरपी, ब्राण्ड र उपभोग्य मिति उल्लेख गर्ने नियमका कारण विशेषगरी चीन तथा तेस्रो मुलुकबाट बढी आयात हुने विराटनगर, वीरगञ्ज, तातोपानी र केरुङ नाका बढी प्रभावित हुनसक्ने व्यवसायीको भनाइ छ । भैरहवा नाका भने भारतसँगको औद्योगिक कच्चा पदार्थ तथा दैनिक व्यापारिक आयातका लागि प्रमुख नाका मानिन्छ ।

प्रकाशित: २६ वैशाख २०८३ ८:०३ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast