काठमाडौँ- निर्देशक बलिराम चौहानले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । चौहानले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ । ‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो ।
‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य स् यो जीवनको लागि यति मात्र हो’ भन्ने वाक्यसहित निर्देशक चौहानले थिम पोस्टर सेयर गरेका छन् । थिम पोस्टरमा कुनै एक सहरको पार्कमा एउटा झोला, झोलामा हेडसेट, बाफ उडिरहेको कफी, कफीको बट्टामा लब साइन, छरिएका दुईटा डायरी र एउटा कलम । जिन्सको आउटर र कालो चस्मा र अलपत्र परेको बुके र सँगै रहेको गुड भाइब्स लेखिएको स्टिकर । यी सँगै थिम पोस्टरमा रहेको ‘ग्रे कलर’ले अचानक प्रेममा धोका पाएको प्रेमीको कथा ‘ल्याङ्ग ल्याङ्ग’ले भन्ने संकेत गरेको छ ।
‘ल्याङ्ग ल्याङ्ग’को कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन् । कलाकार, प्राविधिक, छायांकन, रिलिज डेट, निर्माताबारे निर्देशकले केही बताएका छैनन् ।
बलिराम चौहानको गत वर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका थिए ।




